भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका १४ हजारभन्दा बढी बालबालिकाको पठनपाठन अवरुद्ध छ । शिक्षा मन्त्रालयका अनुसार तीन जिल्लाका ६३ विद्यालय बाढीबाट प्रभावित बनेका छन् । बाढीबाट अझै तीन सय ९६ विद्यार्थी र २१ शिक्षक बेपत्ता छन् । २० विद्यार्थी र दुई शिक्षकको भने शव फेला परेको छ ।
शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षतिसम्बन्धी प्रतिवेदनअनुसार ५० सामुदायिक, ११ निजी र दुईवटा धार्मिक विद्यालय प्रभावित बनेका छन् । यी विद्यालयमा १४ हजार ४५५ विद्यार्थी अध्ययनरत थिए । अधिकांश शैक्षिक संस्थामा पठनपाठन नियमित हुन सकेको छैन ।
बाढीले आठ सामुदायिक, तीन निजी र एक धार्मिक गरी १२ शैक्षिक संस्था पूर्ण रूपमा ध्वस्त बनाएको छ भने ११ वटामा आंशिक क्षति पु¥याएको छ । जसमा ६ सामुदायिक, चार निजी र एक धार्मिक विद्यालय रहेका छन् । बाढीपछि २५ वटा विद्यालयलाई ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गरिएको छ । त्यहाँ दुई हजार दुई सय ७० विस्थापितलाई राखिएको छ । मन्त्रालयको तथ्यांकअनुसार १५ विद्यालय भवनमा प्रत्यक्ष क्षति नपुगे पनि मानवीय क्षति वा अन्य असरका कारण शैक्षिक गतिविधि सञ्चालन गर्न सकिएको छैन ।
‘बाढीपहिरोले २३ शैक्षिक संस्था त क्षतिग्रस्त भएका छन् । २५ वटा शैक्षिक संस्था विस्थापित नागरिकको आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् । यी विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था छैन,’ शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले भने । उनका अनुसार त्यहाँबाट बाढीपीडितलाई अन्य स्थानमा सार्न स्थानीय तहसँग समन्वय थालिएको छ ।
बाढीबाट सबैभन्दा बढी शैक्षिक क्षति नुवाकोटमा भएको छ । यहाँका ११ विद्यालय बाढीले क्षतिग्रस्त बनाएको छ । ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गरिएका १६ विद्यालयमा पनि पठनपाठन अवरुद्ध छ । एक विद्यालयमा भौतिक क्षति नभए पनि शिक्षक र विद्यार्थीको अनुपस्थितिका कारण पठनपाठन सुरु भएको छैन । सबै गरेर नुवाकोटका ६ हजार तीन सय १५ विद्यार्थीको पढाइ प्रभावित बनेको शिक्षा मन्त्रालयको तथ्यांक छ ।
धादिङका आठ विद्यालय बाढीले क्षतिग्रस्त बनेका छन् भने दुई विद्यालय ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गरिएका छन् । अन्य चार विद्यालय सञ्चालन गर्न सकिने भए पनि विद्यार्थी नआएकाले पठनपाठन सुरु हुन सकेको छैन । यी सबै विद्यालयमा पाँच हजार ६६ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, रसुवाका चार विद्यालयमा बाढीले क्षति पुर्याएको छ । यहाँका सात विद्यालयमा विस्थापितलाई राखिएको छ । अन्य १० विद्यालयमा विद्यार्थी नै स्कुल आएका छन् । समग्रमा रसुवामा तीन हजार ७४ विद्यार्थीको पढाइ अवरुद्ध बनेको मन्त्रालयको तथ्यांक छ ।
प्रभावित बालबालिकाको पठनपाठन कसरी सुरु गर्ने भन्नेमा अन्योल
बाढीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने बुधबारदेखि पठनपाठन सुरु गरिएको छ । तर, बाढीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढाउने भन्नेबारे स्थानीय सरकार अन्योलमा छन् । शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढी प्रभावित १५ स्थानीय तहमा ५३ वटा सामुदायिक सिकाइ केन्द्र (सिएलसी) निर्माण गरेको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले रसुवामा २०, नुवाकोटमा १६, धादिङमा १२, तनहुँमा तीन र गोरखामा दुई सिकाइ केन्द्र निर्माण गरिएको बताए ।
तर, प्रभावित क्षेत्रका स्थानीय तहले भने सिकाइ केन्द्र निर्माण नभएको बताएका छन् । ‘अन्य विद्यालयमा त बुधबारदेखि पठनपाठन सुरु भइरहेको छ, तर क्षति पुगेका र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीका विषयमा भने अनिश्चितता छ,’ विदुर नगरपालिका शिक्षा शाखा प्रमुख नमराज सापकोटाले भने, ‘होल्डिङ सेन्टर स्कुलबाट हटाउनुपर्छ । स्कुलमा बसेकालाई अन्य अस्थायी आवास तयार गरेर राख्नुपर्छ भनेर तयारी पनि गरेका छौँ । १० हजार कोठाभाडा दिएर भए पनि स्कुलबाट अन्य स्थानमा सार्ने तयारी गरिरहेका छौँ, यहाँ सिकाइ केन्द्र पनि बनेका छैनन् ।’
उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बाढीमा क्षतिग्रस्त बनेका र होल्डिङ सेन्टरका रूपमा रहेका विद्यालयमा तत्काल पठनपाठन सम्भव नभएको बताए । ‘पालिकाका धेरै विद्यार्थी छरिनुभएको छ, ८७ जना अभिभावकविहीन बालबालिका हुनुहुन्छ,’ उनले भने, ‘केही होल्डिङ सेन्टर विद्यालयमा छन् । ती विद्यालयमा विद्यालय कसरी नियमित गराउने भन्ने विषयमा छलफल गरिरहेका छौँ, तर तत्काल नियमित पठनपाठन सम्भव देखिँदैन । क्षति नपुगेका विद्यालय भने बुधबारदेखि सञ्चालन गरेका छौँ ।’
बेलकोटगढी नगरपालिका प्रमुख जगतबहादुर गुरुङले पनि क्षतिग्रस्त विद्यालयका बालबालिकाको पठनपाठन नियमित गर्न समस्या भएको बताए । ‘बाढीबाट प्रभावित बालबालिकालाई वडा नम्बर ७ मा रहेको महादेव माविको छात्रावासमा राख्ने र पढाउने भनेर योजना बनाएका छौँ, तर अहिले नै पढाउन विद्यार्थी डर, त्रास र पीडामा छन् । त्यसैले अन्योल भइरहेको छ,’ उनले भने ।
अझै यकिन भएन अभिभावकविहीन बालबालिकाको संख्या
१७ दिन बित्दा पनि शिक्षा मन्त्रालयले अभिभावकविहीन बनेका बालबालिकाको यकिन तथ्यांक संकलन गर्न सकेको छैन । जिल्ला प्रशासन कार्यालयहरूमार्फत प्रारम्भिक आकलन मात्रै गरेका छन् । नुवाकोट र रसुवाका ४०–४० तथा धादिङका सात बालबालिकाले अभिभावक गुमाएको प्रारम्भिक तथ्यांक छ । तर, यो तथ्यांक अपूरो भएको आशंकासहित यकिन गर्न फाराम भराउन लागिएको शिक्षा मन्त्रालयका उपसचिव नीलकण्ठ ढकालले बताए । ‘अहिले प्रारम्भिक आकलनको तथ्यांक मात्रै हो ।
तीन जिल्लामा त्यस्ता बालबालिका अझ बढी पनि हुन सक्छन्, तीबाहेकका जिल्लामा पनि हुन सक्छन् । केही दिनमा यकिन हुन्छ । त्यसपछि उनीहरूलाई राज्यले नै हेर्छ र शैक्षिक गतिविधिमा सरिक गराउँछौँ,’ उनले भने । शिक्षा मन्त्रालयले अभिभावकविहीन बालबालिकाबारे जानकारी गराएर सहयोग गर्न पनि अनुरोध गरेको छ ।
प्रभावित बालबालिकाको पठनपाठन कसरी सुरु गर्ने भन्नेमा अन्योल
श्रीप्रसाद भट्टराई प्रवक्ता, शिक्षा मन्त्रालय
बाढीपहिरोले २३ शैक्षिक संस्था त क्षतिग्रस्त भएका छन् । २५ वटा शैक्षिक संस्था विस्थापित नागरिकको आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् । यी विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था छैन ।
माधवप्रसाद अर्याल अध्यक्ष, उत्तरगया गाउँपालिका, रसुवा
केही होल्डिङ सेन्टर विद्यालयमा छन् । ती विद्यालयमा विद्यालय कसरी नियमित गराउने भन्ने विषयमा छलफल गरिरहेका छौँ, तर तत्काल नियमित पठनपाठन सम्भव देखिँदैन ।
जगतबहादुर गुरुङ, मेयर
बेलकोटगढी नगरपालिका, नुवाकोट
बाढी प्रभावित बालबालिकालाई ७ नं. वडामा रहेको महादेव माविको छात्रावासमा राख्ने र पढाउने भनेर योजना बनाएका छौँ, तर अहिले नै पढाउन विद्यार्थी डर, त्रास र पीडामा छन् । त्यसैले अन्योल भइरहेको छ ।
नागार्जुनको पहेँलो गुम्बामा आश्रित बाढी प्रभावित बालबालिकालाई पढाउन थाल्यो काठमाडौं महानगरले
१३४ बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता माविमा पठनपाठनको व्यवस्था
अभिभावकविहीन बनेका विद्यार्थीलाई १२ कक्षासम्म बागमती सरकारले आवासीय सुविधासहित पढाउने
निजी विद्यालयले बाढी प्रभावित क्षेत्रका एक हजार विद्यार्थीलाई पढाउने
