सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३ आगामी १ देखि ४ असोजसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुन लागेको हो । चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्ती पारी चेम्बरको सहकार्यमा सञ्चालन गर्न लागिएको बताइएको छ । प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्ने बताइएको छ ।
प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत गरी सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि प्रदर्शनीमा राखिनेछन् ।
सबै स्टल बुकिङ भइसकेको बताइएको छ । बैंकिङ क्षेत्रमा तरलता सहज तथा ब्याजदर घट्दो क्रममा रहेकाले उपभोक्तालाई घरघडेरी छनोट, वित्तीय निर्णय तथा सुरक्षित लगानीका विषयमा जानकारी लिन प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ । प्रदर्शनीमा ६५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ।
त्यस्तै, यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ । यसबाट प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखिएको छ । प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो सहरीकरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।
यस्तै, चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । उनले व्यवसाय क्षेत्रको सुस्तताका कारण समग्र अर्थतन्त्रमा समेत प्रभाव परेको भन्दै घरजग्गा कारोबारमा लागू विभिन्न शुल्क तथा करका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । उनले क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र तथा सरकारबिच सहकार्य आवश्यक रहेको भन्दै प्रदर्शनीलाई सफल बनाउन सबै पक्षलाई आग्रह गरे ।