२०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालीबाट आधिकारिक रूपमा २११ सदस्यीय टोलीको सहभागिता रहने भएको छ । आगामी ३ देखि १८ असोजसम्म जापानको नागोया र आइचीमा हुने एसियाडमा नेपालले २२ खेलमा भाग लिनेछन् । जसमध्ये ७८ पुरुष तथा ५८ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । समग्रमा एसियामा नेपालबाट १३५ खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीमा २९ जना प्रशिक्षक, १७ व्यवस्थापक र खेल प्राविधिकका रूपमा दुईजना जापान लाग्नेछन् । यसैगरी मेडिकलमा ६ जना र चारजना पत्रकार पनि रहेका छन् । राखेपले विशिष्ट अतिथि, सेभ दी मिसन, डेपुटी सेभ दी मिसन र अन्य अफिसियलसमेत गरी नेपालबाट यसपटकको एसियाडमा २११ जना सहभागी हुने बिहीबार आयोजित बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले जानकारी गराएका छन् ।
२०औँ एसियाडमा नेपाली टोलीका नेता राखेपका सदस्यसचिव रामचरित्र मेहता र सहनेता टासी घले हुन् । ‘सरकारतर्फबाट जाने २११ जना हुन् । त्यसबाहेक अन्य कोही आफ्नो खर्चमा जाने हुनुहुन्छ होला,’ मन्त्री पोखरेलले भने । बिदाइ कार्यक्रममा क्रिकेट र कराँते टोली थिएनन् । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले मलेसियामा आयोजना भइरहेको एसिसी प्रिमियर कपमा सहभागी छ । एसियाडको अन्तिम तयारी गर्न नेपाली कराँते टोली जापानको टोकियोमा प्रशिक्षणमा रहेको छ । कराँते टोली गत साता मात्र जापान पुगेको थियो ।
सन् १९५१ देखि सहभागी नेपाल
नेपाल सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणको एसियाली खेलकुददेखि नै सहभागी हुँदै आएको छ । पहिलो संस्करणमा नेपालबाट एथलेटिक्स खेलका खेलाडीले मात्र भाग लिएका थिए । नेपालबाट नयाँदिल्लीमा नौ सदस्यीय टोलीले भाग लिएको थियो ।
नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सिउलमा भएको एसियाडमा पहिलोपटक पदक जितेको थियो । सन् १९९८ मा बैंकक एसियाडमा नेपालले पहिलोपटक रजत जित्यो । तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई ऐतिहासिक रूपमा रजत दिलाएकी थिइन् । सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको १८औँ एसियाडमा पाराग्लाइडिङले टिम इभेन्ट्समा रजत हात पारेको थियो । सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियाडमा कराँतेकी एरिका गुरुङले रजत दिलाइन् । नेपाल दसौँ संस्करणयता एसियाडबाट पदकविहीन हुनुपरेको छैन ।
‘तयारी राम्रो भएको छ’
उसुका विजय सिँजाली र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले विदाई कार्यक्रममा राम्रो तयारी भएको बताएका छन् । दुवै खेलाडीले पदक ल्याउन सक्दो प्रयास गर्ने पनि जनाए । ‘तयारी राम्रो भएको छ । तर, सोचेकोजस्तो अझै भएको छैन,’ विजयले मन्त्री पोखरेको अगाडि हाँस्दै भने, ‘योभन्दा राम्रो तयारी हुन सक्थ्यो । जति तयारी भयो । त्यसैका आधारमा पदक जित्ने प्रयास गर्छौँ ।’ सन्तोषीले पनि सक्दो पदक जित्न प्रयास गर्ने बताइन् । ‘यसपटक तयारी राम्रो भएको छ । हाम्रो लक्ष्य पदक जित्ने हो,’ उनले भनिन्, ‘सबै खेलाडीमा पदक जित्ने आत्मविश्वास छ । हामी प्रयास गर्छाैँ ।’