निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्सेमा १० भदौको भोटेकोशी बाढीले थप असर पारेको छ । १० भदौपछि मात्रै नेप्से ६२.७२ अंकले बजार घटेको छ । पछिल्लो समय २१ दिनमा मात्रै नेप्से परिसूचक ९७.८५ अंकले घटेको छ ।
४ भदौमा परिसूचक २६२९.४ विन्दुमा पुगेको थियो । त्यसपछि ओरालो लागेर बजार परिसूचक ९ भदौमा २५९४.२७ विन्दुमा रोकिएको थियो । १० भदौमा भोटेकोशीमा बाढी आएको दिन एकैपटक बजार परिसूचक ३५.९२ अंकले घट्यो । १५ भदौमा नेप्से ४३.८९ अंकले घट्यो । त्यसपछि चार कारोबार दिनमा बजार बढ्ने संकेत देखिए पनि बुधबार र बिहीबार फेरि ओरालो लाग्यो ।
बाढी गएको दिन १० भदौमा चार अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस दिनयता कारोबार रकममा वृद्धि भएको छैन । बिहीबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको छ । सबै १३ वटा समूहको परिसूचक घटेको छ । कुल चार अर्ब बराबरको कारोबार भएको छ । जलविद्युत् समूहको परिसूचक खस्किएको देखिन्छ । १० भदौयता यो समूहको परिसूचक १८७.७४ अंकले घटेको छ ।