विद्युतीकरणको माग गर्दै रोल्पा नगरवासी आन्दोलित

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

रोल्पा नगरपालिकाका ग्रामीण भेगमा विद्युतीकरणको काम अघि नबढेपछि स्थानीयहरू आन्दोलित भएका छन्। बिहीबार नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रमा पुगेर उनीहरूले विभिन्न माग पेस गर्दै माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नगरपालिकाको ५, ७, ८, ९ र १० नम्बर वडाका स्थानीयवासीले बिहीबार नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्र लिबाङस्थित कार्यालयमा पुगेर कडा चेतावनीसहित मागपत्र पेस गरेका हुन्। विद्युत विस्तारका लागि भन्दै गठित संघर्ष समितिले पटक-पटक उपभोक्ता, जनप्रतिनिधिले ताकेता गर्दा पनि विभिन्न बहानामा आलटाल गरेको भन्दै तत्काल काम अगाडि बढाउन माग गरेको छ।

‘हामीले धेरैपटक विद्युत् प्राधिकरणमा गएर काम अगाडि बढाउन भन्यौँ, ठेकेदारलाई पनि भन्यौँ,’ संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले भने, ‘जनप्रतिनिधि र जनताको आग्रह पूर्णतः बेवास्ता गरिएपछि आन्दोलन गरेका हौँ, माग पूरा नभए थप सशक्त आन्दोलन गर्छौं।’ उनले आन्दोलनको पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र रोल्पा नगरपालिकालाई बोधार्थ राखेर नेपाल विद्युत् प्राधिकरणमा ज्ञापनपत्र पेस गरेको जानकारी दिए।

सडक, सञ्चार र विद्युतीकरणबाट समेत वर्षाभर वञ्चित रहने रोल्पा नगरपालिका–१०, स्याकैका स्थानीय माला रोकामगरले विद्युत् नहुँदा दैनिक कामकाजमा निकै समस्या भइरहेको बताइन्। ‘विद्युत् नभएपछि मोबाइल चार्ज पनि हुँदैन, गाउँमा केही दुर्घटना वा समस्या भयो भने पनि अँध्यारोमा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘विद्युत् कार्यालयले बेवास्ता गरेकाले हामी आन्दोलन गर्न आएका हौँ।’

रोल्पा नगरपालिकाको वडा नं. १० मा मात्रै करिब २५० घरपरिवार अहिले पनि अन्धकारमा बस्न बाध्य छन्। ‘बाटोमा बिजुलीको पोल फालेर कता गए भनेर खोज्न आएको’ सोही वडाको फाल्जानिवासी बालकुमारी बुढाले भनिन्।

राजनीतिक नेतृत्वले चुनावको वेला मात्र जनताको समस्या सम्झिने र जितेर गएपछि पूर्णतः बेवास्ता गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे। ‘चुनावका वेला सबैले मिठो कुरा गर्दै आउँछन्, समस्या के छ हामी पूरा गर्दिन्छौँ भन्न आउँछन्’ धाङ्सीका पुरे बुढाले भने, ‘चुनाव जितेपछि फर्किन्नन्, अहिले आन्दोलन गर्नुपर्ने अवस्था आएको छ।’ दशकौँदेखि विद्युत् सेवा उपलब्ध गराउने भनेर बारम्बार विभिन्न बहानामा जनतालाई ढाँट्दै आएको स्थानीयको गुनासो छ। नागरिकले पाउनुपर्ने आधारभूत अधिकारबाट पनि वञ्चित गरिएको भन्दै उनीहरूले तत्काल काम अघि बढाउन माग गरेका छन्।

विद्युत् प्राधिकरणको कामप्रति जनप्रतिनिधि पनि सन्तुष्ट छैनन्। नगरपालिकाको विद्युतीकरण नभएका पाँचवटै वडाध्यक्षहरू पनि आन्दोलनमा सहभागी छन्। ‘हामीले धेरैपटक प्राधिकरण र ठेकेदार कम्पनीलाई भन्दै आएका छौँ,’ वडा नं. ७ का अध्यक्ष लालबहादुर घर्तीले भने, ‘सधैँ आलटाल गरेर हुँदैन, समस्या कसको हो जनतालाई स्पष्ट भनिदिनुपर्छ।’

यता नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले भने जिल्लाका ८ वटा गाउँपालिकामा दुईवटा ठेक्का चलिरहेको र रोल्पा नगरपालिका छुट्न गएको बताएको छ। तर, जिल्लाभर विद्युतीकरण गर्ने भनिएकाले नगरपालिका पनि समेटिने कार्यालयले आश्वासन दिएको छ।

स्थानीयवासीको मागप्रति आफूहरू गम्भीर रहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका सहायक प्रबन्धक ईश्वरबहादुर विष्टले मागलाई सम्बन्धित निकायमा पठाउने र कार्यालयको तर्फबाट पनि अझै दबाब दिने बताए। पूर्ण विद्युतीकरणको नारालाई गिज्याउने गरी भएको यो आन्दोलनको मागलाई नेपाल विद्युत् प्राधिकरण, राजनीतिक नेतृत्व र सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने देखिन्छ।

सुझावित समाचार