धनकुटा प्रहरीले एक हजार २४०.६ किलोग्राम लागुऔषध गाँजासहित गाँजा बोक्न प्रयोग गरिएको ट्रक नियन्त्रणमा लिएको छ।
साँगुरीगढी गाउँपालिका– ७, फेदीस्थित कोशी लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी मूलघाट, धनकुटा र सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस मूलघाट, धनकुटाबाट खटिएको संयुक्त प्रहरी टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ख ५२७ नम्बरको ट्रक जाँच गर्ने क्रममा ठुलो परिमाणमा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जाँचका क्रममा ट्रकबाट एक हजार २४०.६ किलोग्राम लागुऔषध गाँजा फेला परेको हो। प्रहरीले गाँजासहित ट्रकलाई नियन्त्रणमा लिए पनि ट्रकचालक भने अचानक ट्रकबाट हामफालेर फरार भएका छन्।
बरामद गरिएको गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
फरार ट्रकचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।