संखुवासभामा चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। जिल्लाको पाँचखपन नगरपालिका– ८, पोख्राङस्थित अलैँची भट्टीमा अलैँची केलाउने क्रममा चटयाङ लागेर २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका धनबहादुर राजवंशीले बताए ।
गएराति वर्षासँगै आएको चट्याङ लागेर दाहालको मृत्युसँगै सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कटवाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएको प्रहरी निरीक्षक राजवंशीले बताए ।
हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते ६४ वर्षीय कटवाल र ६२ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।