वन अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा कैलालीको धनगढीबाट एकजना पक्राउ परेका छन्। कैलारी गाउँपालिका–४ घर भएका २५ वर्षीय दीपेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले आफू वन अधिकृत हुँ भनेर एक युवतीलाई प्रेम र प्रलोभनमा पारेर रकम असुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरीले ती युवतीको घरका सदस्य तथा आफन्तलाई समेत करारमा जागिर लगाइदिने भनेर नक्कली परिचयपत्र र नियुक्तिपत्रसमेत बनाएको खुलेको छ।
उनी वन अधिकृत भने नरहेको खुलेको प्रहरीले जनाएको छ। चौधरीले जागिरको प्रलोभन देखाएर कतिजनाबाट कति रकम लिए भन्नेबारे सोधपुछ भइरहेको र उनीविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।