नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले जेन–जी आन्दोलनको परिकल्पनाअनुसारको समाज र राज्य निर्माण गर्न नसकिएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा केसीले जनतामा चुलिएको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको व्यापक दमनका कारण भएको सो आन्दोलन कुनै दलविशेषको पक्ष वा विपक्षमा नभएको प्रस्ट पारे।
आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभएको बताउँदै उनले भने, ‘यो परिवर्तन संस्कार परिवर्तनको निम्ति थियो। सरकारको शैली परिवर्तनको निम्ति थियो, सुशासनको निम्ति थियो, विधिविहीनता र दण्डहीनता अन्त्यको निम्ति थियो।’
जनविश्वास र आशा बोकेको सरकार सफल होस् भन्ने आफूहरूले सोचेको उल्लेख गर्दै केसीले अहिलेको विपतको अवस्थामा मिलेर जानुपर्ने बताए।