नेपालले माग्यो थप प्राविधिक उपकरण

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण
  • उच्च क्षमताका ड्रोन, लिडार प्रणाली, बेलिब्रिज, महामारी रोकथाम सामग्री, डिएनए परीक्षण किट, पानीमुनि चल्ने ड्रोन, पोर्टेबल जेनेरेटर, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशाला फ्रिजर तथा लेदो/सुरुङ उद्धार पोसाकलगायतका उपकरण सहयोगका लागि माग गरिएको छ

सरकारले खोज, उद्धार तथा डिएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग मागेको छ । सरकारले उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको भए पनि विपत्को आकार र जटिलताका कारण निरन्तर अन्तर्राष्ट्रिय एकता र सहयोग आवश्यक देखिएको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उच्च क्षमताका ड्रोन, लिडार प्रणाली, बेलिब्रिज, महामारी रोकथाम सामग्री, डिएनए परीक्षण किट, पानीमुनि चल्ने ड्रोन, पोर्टेबल जेनेरेटर, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशाला फ्रिजर तथा लेदो/सुरुङ उद्धार पोसाकलगायतका उपकरण सहयोगका लागि माग गरिएको छ । ‘यी मागहरू सम्बन्धित अन्तर्राष्ट्रिय साझेदारहरूलाई औपचारिक रूपमा जानकारी गराइसकिएको छ । आवश्यक सहयोग प्राप्त हुनेबित्तिकै परिचालन सहज बनाउन निकट समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । 

सरकारका अनुसार हालसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, कतार, सिंगापुर, कोरिया गणतन्त्र, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सबाट सहयोग आएको छ । यसैगरी नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड, चेक गणतन्त्र, फ्रान्सका साथै युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्र संघ तथा अन्य निकायहरूबाट सहयोग प्राप्त भएको परराष्ट्रले जनाएको छ ।

चीनबाट आयो राहत सामग्रीको चौथो खेप 
चीन सरकारद्वारा उपलब्ध गराइएको चौथो चरणको आपत्कालीन राहत सामग्री मंगलबार काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वाई–२० ए विमानमार्फत चौथो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ विमानस्थल पुगेर विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।

‘यो चरणको राहत सामग्रीहरूमा मुख्यतया उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी म्याग्नेट फ्लड पम्प, अतिरिक्त ब्याट्री, मर्चरी फ्रिजर र सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू छन्,’ चिनियाँ दूतावासले भनेको छ, ‘नेपालका लागि यी सबै सामग्री नेपालको सबैभन्दा तत्कालको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएका हुन् र यसले आपत्कालीन उद्धार कार्य तथा प्रभावित क्षेत्रहरूको आगामी पुनर्स्थापना कार्यमा बलियो सहयोग पुर्याउनेछ ।’

विज्ञानमन्त्री पुनले यो खेपमा डुंगा जान नसक्ने ठाउँमा जाने सक्ने होभरक्राफ्ट डुंगा तथा हिलो–लेदो तान्न सक्ने परमानेन्ट म्याग्नेट फ्लड पम्पसमेत चीनले पठाएको जानकारी दिए । यी सामान बुधबार त्रिशूली पठाउने तयारी छ ।

नर्वेबाट पनि राहत सामग्री
नर्वे सरकारले युरोपेली संघ (इयू) नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरेको औषधि, ऊर्जा र प्राविधिक उपकरणसहित पहिलो उडान आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इयू इसिएचओकी एसिया तथा प्रशान्त क्षेत्रका लागि र्यापिड रेस्पोन्स संयोजक इजाबेल डी’हाउटले विज्ञानमन्त्री महावीर पुनलाई राहत तथा प्राविधिक सामग्री हस्तान्तरण गरेकी छिन् । राहत सामग्री बोकेर थप उडानहरू यसै साताको अन्तिममा आउने इयूको नेपालस्थित कार्यालयले जनाएको छ । 

थपिए विदेशी उद्धार टोली
भोटेकोशीको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा सुरुमा भारत र चीनका उद्धार विशेषज्ञ तथा लगत्तै कोरियाली विज्ञ खटिएकोमा अहिले तीन देशका थपिएका छन् । मलेसिया, युएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘भारत, चीन र कोरिया गणतन्त्रका सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम जारी राखेका छन् । संयुक्त अरब इमिरेट्सका खोज तथा उद्धार टोली, मलेसियाको विशेष विपत् सहायता तथा उद्धार टोली र अस्ट्रेलियाको विपत् सहायता तथा प्रतिक्रिया टोलीले पनि अभियानमा सहयोग पुर्याइरहेका छन्,’ परराष्ट्रद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । परराष्ट्रले थप भनेको छ, ‘जीवितै उद्धार गर्ने आशा बाँकी नै रहेको र सुरुङभित्र बेपत्ता भएका व्यक्तिहरूको विवरण पुष्टि हुन बाँकी रहेकाले छिमेकी तथा मित्रराष्ट्रहरूबाट प्राप्त उद्धार सहयोग उपकरण, ड्रोन, लोड क्यारियर र सामग्रीहरू यस अभियानका लागि प्रयोग भइरहेका छन् ।’

मोलुङ खोला जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ‘ए’, माथिल्लो त्रिशूली ३ ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायतका प्रभावित जलविद्युत् आयोजनाहरूमा खोज तथा उद्धार कार्य जारी छ । 

केरुङबाट ७३६ नेपाली फर्किए 
तिब्बत स्वशासित क्षेत्रको केरुङमा विभिन्न पेसा, व्यवसाय तथा मजदुरी गरेर बसेका ७३६ नेपाली नागरिक तातोपानी नाका भएर स्वदेश फर्केका हुन् । रसुवाभन्दा पारि केरुङबाट उनीहरू सिन्धुपाल्चोकस्थित नेपाल–चीन नाकाबाट फर्केका हुन् । परराष्ट्रका अनुसार मंगलबार मात्रै ९४ जना नागरिक फर्केका छन् । सोमबारसम्म कुल ६४२ जना फर्केका थिए भने मंगलबार थप ९४ जना फर्केका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको पहलमा नेपालीहरू अर्को नाकाबाट फर्किन चीन सरकारले सहजीकरण गरिदिएको छ ।
 

सुझावित समाचार