युवाहरूको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुनेछैनौँ : रवि लामिछाने

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका क्रममा घाइते तथा अंगभंग भएकाहरूको उपचार, परिवारको उचित हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने बताएका छन्।

जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले उक्त दिनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार राजनीतिमा खासै चासो नराख्ने भनिएको युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिनु परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति थियो। आन्दोलनले डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशमा भविष्य खोज्ने युवा पुस्ताको आकांक्षा उजागर गरेको उनले बताएका छन्।

लामिछानेले जेन–जी आन्दोलन कुनै राजनीतिक दल वा नेताको योजनामा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको दाबी गरेका छन्। त्यसैले कुनै पनि राजनीतिक शक्ति वा नेताले आन्दोलनलाई आफ्नो संकुचित राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने उनको भनाइ छ।

‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘र, यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।’

उनले रास्वपाको कार्यसम्पादनमाथि निरन्तर रचनात्मक खबरदारी र निर्मम समीक्षा आवश्यक रहेको बताएका छन्। साथै, नागरिकमा निराशाको भाष्य स्थापित हुन नदिन तथा नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्।

लामिछानेले जेन–जी आन्दोलनले उठाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मुद्दाबाट आफूहरू पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुनेछैनौँ,’ उनले विज्ञप्तिमार्फत भनेका छन्।

सुझावित समाचार