जेन–जी आन्दोलनको वार्षिकीमा पूर्वप्रधानमन्त्री कार्कीको अपिल– अब त्यस्तो दिन दोहोरिनुहुँदैन

राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अब त्यस्तो पीडादायी दिन दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छिन्।

भदौ २३ गतेको स्मरण गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल सञ्जालबाट आवाज उठाएका नवयुवाहरूको आवाज दबाउने क्रममा निर्दोष युवाहरूको ज्यान गएको उल्लेख गरेकी छिन्। उनले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन्।

कार्कीले आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठुलो क्षति हुनुका साथै कैयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमेको भन्दै त्यसप्रति दुःख व्यक्त गरेकी छिन्। राष्ट्रको जीवनमा लागेको उक्त घाउ सायदै कहिल्यै पुरिने उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था पुनः सिर्जना हुन नदिन आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गरेकी छिन्।

उनले जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको बताएकी छिन्। ‘सुशासन छैन भने संसद्को दुईतिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन’ भन्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने धारणा व्यक्त गरेकी छिन्। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने अपेक्षा पनि उनले व्यक्त गरेकी छिन्।

यसैबिच, जेन–जी आन्दोलनबाट भएको ठुलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको कार्कीले उल्लेख गरेकी छिन्। विपतकाे यस दुःखद घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन आग्रह गर्दै उनले एक–अर्काको सहारा बन्दै ऐक्यबद्ध भएर विपतकाे सामना गर्न अपिल गरेकी छिन्।

सुझावित समाचार