अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अब तोकिएका गम्भीर अपराधमा आरोपितलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्नेदेखि मुद्दा अभियोजनका लागि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनेसम्मको अधिकार पाएको छ ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सात प्रकारका कसुरमा पक्राउ परेका आरोपितमाथि आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्न तथा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन सक्ने अधिकार दिएको हो ।

यसअघि कार्यालयले काठमाडौं उपत्यकामा हुने गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्दै पक्राउ परेका आरोपितलाई सम्बन्धित प्रहरी कार्यालयमा बुझाउँदै आएको थियो । यसरी आरोपितलाई सम्बन्धित कार्यालयमा बुझाउँदा अनुसन्धान प्रभावकारी हुन नसकेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सात प्रकारका कसुर तोकेर कार्यालयलाई थप अधिकार दिएको हो । 

अब कार्यालयले हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थसम्बन्धी कसुर, व्यक्ति बेपत्ता पार्ने कसुर, अपहरण तथा शरीर बन्धक,  मुद्रासम्बन्धि कसुर, डकैती, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा आरोपितलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ । तर, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा एक करोड रुपैयाँ वा त्यसभन्दा बढी बिगो भएको घटनामा मात्र कार्यालयले अनुसन्धान गर्नेछ ।

प्रहरी प्रधान कार्यालयले दिएको थप अधिकार प्रयोग गर्न कार्यालयले थालिसकेको छ । कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार अपहरण तथा डकैतीसम्बन्धी मुद्दामा आरोपितलाई आफ्नै म्याद थप गरी अनुसन्धान भइरहेको छ । ‘हामीले अपहरण तथा डकैती मुद्दामा आरोपितलाई आफ्नै म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

देशको केन्द्रीय राजधानीमा हुने संगठित तथा जघन्य किसिमका अपराधको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी कार्यालयको हो । उसले तीनै जिल्लामा आफ्नो शाखा राखेको छ भने सबै वृत्तहरू कार्यालयमा प्रतिनिधिहरू खटिएका छन् । कार्यालयले सात प्रकारका कसुरबाहेक अन्य अपराधका आरोपी पनि पक्राउ गर्न भने पाउँछ । उनीहरूमाथि थप अनुसन्धानका लागि भने सम्बन्धित क्षेत्रको प्रहरी कार्यालयलाई पठाउनुपर्ने हुन्छ । 

कतिपय अवस्थामा जिल्लाका इन्चार्ज र कार्यालयबिच समन्वयको समेत अभाव हुने गरेको छ । कार्यालयले आफैँ अनुसन्धानको अधिकार पाएपछि जघन्य किसिमका अपराधको अनुसन्धान थप सशक्त बनाउने चुनौती छ । हालसम्म कार्यालयको आफ्नै हिरासतसम्म छैन । टेकुस्थित निर्माणाधीन भवनमा हिरासत पनि बनाउने काम भइरहेको कार्यालयले जनाएको छ । 

यसअघि : अपराध अनुसन्धान कार्यालयले उपत्यकामा हुने गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्दै पक्राउ परेका आरोपितलाई सम्बन्धित प्रहरी कार्यालयमा बुझाउँदै आएको थियो ।

अब : हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थसम्बन्धी कसुर, व्यक्ति बेपत्ता पार्ने कसुर, अपहरण तथा शरीर बन्धक, डकैती, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा आरोपितलाई अपराध अनुसन्धान कार्यालयले आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ । तर, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा एक करोड रुपैयाँ वा त्यसभन्दा बढी बिगो भएको घटनामा मात्र कार्यालयले अनुसन्धान गर्नेछ । 

 एसएसपी सन्तोष खड्का, प्रमुख, 
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

हामीले अपहरण तथा डकैती मुद्दामा आरोपितलाई आफ्नै म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ ।

सुझावित समाचार