परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबिच सोमबार टेलिफोन वार्ता भएको छ। वार्तामा विदेशमन्त्री एडमले भोटेकोशी बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाए।
उनले विपतकाे यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गरेका छन्। सो अवसरमा परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरे।
टेलिफोन वार्ताका क्रममा दुवै विदेशमन्त्रीले जलवायु जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका साझा चुनौतीबारे छलफल गरेका थिए। दुवैले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धन तथा थप प्रभावकारी जलवायु कार्यका लागि सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।