कलंकी नापीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्वेक्षक अमितकुमार श्रेष्ठविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार चन्द्रागिरि नगरपालिका– ९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलान गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दा पार्धे र श्रेष्ठले सेवाग्राहीसँग घुस रकमका लागि बार्गेनिङ गरेको र नियमअनुसार गर्नुपर्ने काम नगरी दुःख–हैरानी दिएको पुष्टि भएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा उनीहरूले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको र आफूले प्रत्यक्ष रूपमा रकम नलिई कार्यालय सहयोगीलाई दिन लगाउने गरी रकम लिन मञ्जुर गरेको देखिएको आयोगको दाबी छ।

आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ।

सोही आधारमा आयोगले दुवै प्रतिवादीविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा सोही ऐनबमोजिम बिगोबराबर जरिवाना मागदाबी गरेको छ। आयोगले दुवै जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

सुझावित समाचार