बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबिच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् । बेलायत भ्रमणका क्रममा पूर्वउपसभामुख रानाले लन्डनस्थित हाउस अफ कमनमा उपसभामुख नोक्ससँग भेट गरी नेपालमा आएको विनाशकारी बाढी र यसले पारेको प्रभाव, नेपालले पाउनुपर्ने न्याय र क्षतिपूर्तिको विषय उठाएकी हुन्। 

पूर्वउपसभामुख रानाले नेपाल र बेलायतबिच ऐतिहासिक सम्बन्ध रहेको, बेलायतका लागि नेपाली गोर्खा सैनिकले ठुलो योगदान गरेको भन्दै नेपालको विपत्तिमा बेलायतको संसद्ले सहयोग गर्ने अपेक्षा गरिन्। उनले नेपालको जलवायु न्यायका लागि बोलिदिन पनि उपसभामुख नोक्सलाई अनुरोध गरेकी थिइन्। 

उपसभामुख नोक्सले नेपाल बेलायतको परिवारजस्तै भन्दै यो विपत्तिमा आफूहरू नेपालसँगै साथमा रहेको बताइन् । उनले संसदमा नेपाललाई विशेष रूपमा हेर्नुपर्छ भनेर आवाज उठेको र सरकारबाट सहयोग घोषणा भएको पनि जानकारी गराइन् । जलवायु परिवर्तनको मुद्दा सबैको देशको साझा दायित्व भन्दै उपसभामुख नोक्सले नेपालको न्यायका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्। 

भेटमा संसदीय अभ्यास आदान–प्रदानका विषयमा पनि छलफल भएको थियो। भेटमा बेलायतनिवासी समाजसेवी रवीन्द्रजंग लामिछाने पनि सहभागी थिए । पूर्वउपसभामुख रानाले हाउस अफ कमनमा अन्य सांसदहरूसँग भेट गरी नेपालले भोगेको विपत्ति र जलवायु न्यायबारे छलफल गरेकी थिइन्।

सुझावित समाचार