पोखरेली टेनिस खेलाडी अभिषेक बाँस्तोलाले एकपछि अर्को सफलता हात पार्दै गएका छन्। सोही क्रममा बाँस्तोला पुरुष टेनिसको विश्वको दोस्रो उच्चस्तरको व्यावसायिक प्रतियोगिताका रूपमा मानिएको एटिपी च्यालेन्जर टुर खेल्ने पहिलो नेपाली टेनिस खेलाडी बनेका छन्।
भियतनामको फान थिएटस्थित हार्ड कोर्ट, नोभा वर्ल्डमा आइतबारदेखि सुरु भएको प्रतियोगितामा सहभागी बाँस्तोला जापानका युता कावाहासीसँग पराजित भएका छन्। टुरअन्तर्गतको क्वालिफायर खेलमा कावाहासीले बाँस्तोलालाई ६–२, ६–३ ले पराजित गरेका थिए।
टुरलाई विश्वस्तरीय प्रोफेसनल टेनिसमा माथि उक्लिन चाहने खेलाडीका लागि महत्त्वपूर्ण प्रतियोगिताका रूपमा मानिन्छ। २९ भदौसम्म चल्ने टुरमा प्रतिस्पर्धी खेलाडीहरूले राम्रो प्रदर्शन गरेर ग्रान्डस्लामको मुख्य ड्रमा प्रवेश गर्ने बाटो बनाउँछन्।
बाँस्तोला वाइल्ड कार्डमार्फत टुरमा सहभागी भएका हुन्। कुल ६३ हजार अमेरिकी डलर पुरस्कार राशिको एटिपी च्यालेन्जरमा नेपालको प्रतिनिधित्व गर्न पाउनु नेपाली टेनिस र आफ्नो लागि ऐतिहासिक उपलब्धि भएको अभिषेकले बताए।
पोखरा घर भएका बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आइटिएफ)को वरीयतामा हाल एक हजार २९२औँ स्थानमा छन्। उनले त्यसअघि एक हजार ७९०औँ स्थानबाट उल्लेखनीय सुधार गर्दै एक हजार २९२औँ स्थानमा आफ्नो नाम लेखाउन सफल भएका हुन्।
आठ वर्षको उमेरबाट टेनिस खेल्न सुरु गरेका बाँस्तोलाले १३ वर्षकै उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका थिए। हालसम्म विभिन्न १५ देशमा आयोजना गरिएका टेनिसका विभिन्न प्रतियोगितामा उनी सहभागी भइसकेका छन्।
आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची र नागोयामा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि बाँस्तोलाले हाल विभिन्न देशमा भएका प्रतियोगिता खेलिरहेका छन्। एसियाडमा अभिषेक चौथोपटक सहभागी हुन लागेका हुन्। यसपटक केही फरक र उत्कृष्ट प्रदर्शन गर्ने गरी तयारी गरिरहेको उनले बताए।
बाँस्तोलाले सन् २०११ मा म्यानमारमा सम्पन्न समूह–२ यू–१४ विश्व जुनियर टेनिसमा सहभागी भएर पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका थिए। सन् २०१३ मा चीनको नान्जिङमा भएको दोस्रो एसियन युथ गेम्स, सन् २०१४ मा कोरियाको इन्चोनमा भएको १७औँ एसियाली खेलकुद, सन् २०१८ मा इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका उनले सन् २०१६ मा भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए। बाँस्तोला सन् २०२४ मा सम्पन्न डेभिस कपमा समेत सहभागी भएका थिए।