कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको आपूर्ति सहजताका लागि सरकार र निजी क्षेत्रले एकजुट भएर प्रयास गरिरहेको बताएका छन् । शुक्रबार आर्थिक पत्रकार समाजले गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले विपत्का समयमा पनि आपूर्ति सहजताका लागि सरकारले गरेको प्रयासलाई साथ दिनुपर्ने बताए ।
‘काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि आपूर्तिमा केही समस्या देखिएको छ, तर सरकार क्रियाशील रहेको छ,’ उनले भने, राज्यको तर्फबाट जुनसुकै उपाय लगाएर भए पनि आपूर्ति व्यवस्था सामान्य गराउन हामी प्रयासरत छौँ । मूल्य नियन्त्रणका लागि हाम्रो प्रयास पनि जारी छ ।’
कार्यक्रममा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सदस्यसमेत रहेका कांग्रेस सांसद प्रकाशसिंह कार्कीले उपभोग्य वस्तुको भाउ बढेकोप्रति सरकार संवेदनशील हुनुपर्ने बताए । आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले ग्यासको मूल्यवृद्धि भएको विषयभन्दा आपूर्ति सहजतालाई बढी प्राथमिकता दिनुपर्ने बताए । ग्यास उद्योगी शिवप्रसाद घिमिरेले तराईबाट ढुवानी गर्दा प्रतिसिलिन्डर एक सय ८० रुपैयाँ लागत परेको, तर उपभोक्ता मूल्य एक सय पाँच रुपैयाँ मात्र वृद्धि गरिएको प्रस्टीकरण दिए ।
ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापाले डिलरहरू आफैँ तराई गएर ग्यास ल्याइरहेका कारण ढुवानी खर्च धेरै पर्न गएको बताए । उनले विपत्का वेला ग्यास बिक्री गर्दा प्राप्त हुने कमिसनसमेत त्यागेर काम गरिरहेको जानकारी दिए । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले उपत्यकामा तीन महिनालाई पुग्ने खाद्यान्नको मौज्दात रहेकाले उपभोक्ता अतालिन नहुने बताए ।
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको बताए । ‘खुद्रा पसलले थोकमा गएर जुनसुकै सामान मगाउँदा पनि पर्याप्त मात्रामा पाउने गरेका छौँ । थोक व्यापारीले कुनै पनि सामान दिन नसकेको अवस्था छैन ।’ उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले विपत् र ढुवानीको बहानामा ग्यासमा गरिएको एक सय पाँच रुपैयाँ मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने बताए । ‘यो मूल्यवृद्धि हदैसम्मको अमानवीय, गैरजिम्मेवारपूर्ण र निन्दनीय कार्य हो,’ उनले भने ।
कसले के भने ?
नेत्र सुवेदी, सहसचिव, उद्योग मन्त्रालय : काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि आपूर्तिमा केही समस्या देखिएको छ, तर सरकार क्रियाशील रहेको छ । राज्यको तर्फबाट जुनसुकै उपाय लगाएर भए पनि आपूर्ति व्यवस्था सामान्य गराउन हामी प्रयासरत छौँ ।
प्रकाशसिंह कार्की, कांग्रेस सांसद : ग्यासको मात्र होइन, सबै खाद्य वस्तुको भाउ बढेको छ । तर, सबै खाद्य वस्तु पकाएर खानका लागि ग्यास चाहिने भएकाले होला, ग्यासको आपूर्ति असहजता र मूल्यवृद्धिबारे बढी बहस भइरहेको छ ।
नागेन्द्र साह, कार्यकारी निर्देशक, आयल निगम : एक किलो मासु १७–१८ सय रुपैयाँमा किनिरहेका छौँ । यो एक छाक वा एक दिनमा सक्छौँ । २१ सय ६५ मा किनेको एक थान सिलिन्डरले एउटा सानो परिवारलाई दुई महिना टिक्छ । यो कुरामा हामीले छलफल गर्ने कि नगर्ने ? मैले यसो किन भनेको भने, ग्यास देशभित्र छैन र विदेशबाट आयात गरेर विषम परिस्थितिमा आपूर्ति गरिरहनुपरेको छ भने प्रतिसिलिन्डर २१ सय ६५ रुपैयाँ पुगेको विषय ठुलो नभई उपभोक्तालाई ग्यास दिन सक्नु, उपभोक्ताको चुलो बाल्नु ठुलो चुनौती हो भन्ने लाग्छ ।
शिवप्रसाद घिमिरे, ग्यास उद्योगी : तराईबाट प्रतिसिलिन्डर १ सय ८० रुपैयाँ लागतमा काठमाडौंसम्म ग्यास ढुवानी भएकाले उपभोक्ता मूल्यवृद्धि भएको हो । तर, प्रतिसिलिन्डर १०५ रुपैयाँ मात्र जोडिएको छ ।
पवित्र बज्राचार्य, अध्यक्ष, खुद्रा व्यापार संघ : थोक तथा खुद्रा पसलहरूमा नियमित रूपले तीन महिनाको माग धान्न सक्ने खाद्यान्न मौज्दात रहेको हुन्छ । अहिले पनि त्यही अवस्था हो । भुइँचालो र कोभिड महामारीमा त पसल खोलेर सेवा दिएका थियौँ भने अहिले त झन् समस्या हुने कुरै भएन ।
प्रेमलाल महर्जन, उपभोक्ता अधिकारकर्मी : विपत् र ढुवानीको बहानामा ग्यासमा गरिएको १०५ मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्छ । विपत्को मौका छोपेर रातारात कालोबजारी गर्ने नियतले दुःखी र पीडित उपभोक्ताको ढाड भाँचिने गरी गरिएको यो मूल्यवृद्धि हदैसम्मको अमानवीय, गैरजिम्मेवारपूर्ण र निन्दनीय कार्य हो ।
चन्द्र थापा, ग्यास विक्रेता : तराईमा जति पनि ग्यास छ । त्यहाँबाट आएको ग्यास विक्रेतामार्फत बिक्री गर्ने हो । विक्रेताले गाडी खोजेर तराईमा गएर ग्यास ल्याउनुपर्ने बाध्यता छ । प्रतिसिलिन्डर १०५ रुपैयाँ जोडेर ग्यास ल्याउन सकिँदैन ।