एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा पहिलो हार व्यहोरेको छ । शनिबार राति एथलेटिको क्लबसँग टोली ३–० को लज्जास्पद हार व्यहोर्न पुगेको हो । बिल्वाओमा ४८ हजार समर्थकमाझ घरेलु टोलीलाई जिताउन विश्व विजेता विलियम निको तथा रोबर्ट नाभारो र ओइहान सान्सतले समान एक गोल गरेका थिए ।
तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रशिक्षक डिअगो सिमोनले विश्वविजेता एलेक्स बाइना, दक्षिण कोरियन स्टार ली काङ इन, आफ्नै छोरा जिउलिआनो सिमोन, एडेमोला लुकम्यानलाई अट्याकको जिम्मेवारी दिएका थिए । ५९औँ मिनेटमा क्लबसँग असन्तुष्टि जनाइरहेका अर्जेन्टिनी स्टार जुलियन अल्भारेजलाई मैदान उतारे पनि सिमोनले गोलको खडेरी तोड्न सकेनन् ।
यो हारपछि चार खेलमा सात अंक जोडेको एट्लेटिको छैटौँ स्थानमा छ । यो खेलमा जित निकाल्दै एट्लेटिकोलाई शीर्ष स्थानमा उक्लने अवसर थियो । अब भने क्लबले यो अवसर गुमाएको छ । दोस्रो जित निकालेको एथलेटिको क्लब भने सातौँ स्थानमा उक्लिएको छ ।