परिवारले काजकिरिया थालिसकेको थियो, जीवितै भेटिइन् चण्डिका

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

संयोगको योग !

भोटेकोशी बाढीको एघारौँ दिन शनिबार पनि बेपत्ता दुईजनाको सकुशल उद्धार भएको छ । नुवाकोट वेत्रावतीमा गेग्रानले पुरिएको घरभित्रबाट ६४ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली १ को सुरुङबाट लु हाइताओ नाम गरेका चिनियाँ नागरिकको उद्धार गरिएको हो । यसअघि शुक्रबार त्रिशूली थ्री ‘ए’को सुरुङबाट कीर्तिपुरका कबिर महर्जन र सप्तरी सञ्जय साहको जीवितै उद्धार भएको थियो ।

माथिल्लो त्रिशूली १ को सुरुङबाट शनिबार उद्धार गरिएका चनियाँ नागरिक लु हाइताओ 

वेत्रावती बगरमा अन्य दिनजस्तै शव खोज्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हिँडिरहेको थियो । २४ शव भेटिइसकेको यस क्षेत्रमा शनिबार भने बगरमा पुरिएको घरतिरबाट अनौठो सन्देश आयो– गुहार, गुहार । घरको माथिल्लो तल मात्रै बगरले पूर्ण रूपमा छोपेको थिएन । उद्धार टोली झ्याल फुटाएर भित्र छिर्दा जीवितै भेटिइन् चण्डिका । 

‘यस क्षेत्रमा कोही भित्र फसेका वा शवहरू छन् कि भनेर हिँडिरहेका थियौँ, किनभने यही क्षेत्रबाट २४ शव फेला पारिसकिएको छ,’ खोजीमा खटिएका प्रहरी इन्स्पेक्टर महेन्द्र दर्नालले भने, ‘अलिकति मात्रै बगरले पुर्न बाँकी रहेको एउटा घरको भित्रबाट गुहार, गुहार भनेर आवाज आयो, हामीले झ्याल र भित्ता फोडेर पहिले अक्सिजन पाइप भित्र छिरायौँ । त्यसपछि हिलोमा डुबेर बिचल्लीमा पर्नुभएकी आमालाई रेस्क्यु गर्‍यौँ ।’

परिवारका अनुसार उनी बाढी आउँदा चारतले घरको सबैभन्दा माथि रहेको भान्सामा थिइन् । बाढीले लगभग पूरै पुरेको घरमा माथिल्लो तलाको भान्साको एउटा चेपभित्र १० दिन बिताइन्, एघारौँ दिनमा सकुशल फर्किएकी छिन् । जबकि परिवारले आठ दिनसम्म कुनै अत्तोपत्तो नभएपछि कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरिया थालिसकेको थियो । शोकमा रहेको परिवारमा एकाएक खुसी फर्किएको छ । त्यसो त चण्डिकाका श्रीमान् आनन्दलाल श्रेष्ठ अझै बेपत्ता छन् । 

बुबाआमा नभेटिएपछि आठौँ दिन कुशको शव बनाएर दाहसंस्कार गरी छोराहरू अनिश र आयुश सानोभर्‍याङस्थित घरमा काजकिरियामा थिए । आमा भेटिएपछि उनीहरू अस्पतालमा भेट्न पुगे । ‘अत्यन्तै पीडामा थियौँ, आमा भेटिनुभयो, तर बुबा मिसिङ हुनुहुन्छ,’ आयुशले भने, ‘दाइ र म संस्कारमा थियौँ, आमा भेटिएपछि फेरि भगवान् मिलेजस्तै भएको छ । उहाँको खुट्टामा किला तथा फलामले घाउ बनाएका कारण शनिबार नै शल्यक्रिया गरिएको छ, आमा भेटिएकोमा धेरै खुसी छौँ, तर बुबा भेटिनुभएको छैन ।’ 

सेनाको हेलिकोप्टरमा ल्याएर उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले ७२ घण्टा भेटघाटमा रोक लगाएका छन् । अस्पतालबाहिर उनका छोरा, नाति र आफन्तहरू कुरेर बसिरहेका छन् ।

चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार चार तलाको घर बाढीले बगाएर नदीको बिचमा पुर्‍याएको थियो । ‘उहाँहरू (चण्डिका र आनन्दलाल)को सबैतिर खोजी गर्‍यौँ, ज्वाइँ दुई–तीन दिनसम्म खोज्न जानुभयो, नभेटिएपछि निराश हुँदै फर्किनुभयो, आठौँ दिनसम्म पनि नभेटिएपछि काजकिरिया थालेका हौँ, चमत्कार भयो,’ उनले भने, ‘उहाँ भेटिएको खबरले यो संसारमा साँच्चिकै भगवान् छन् भन्ने लागेको छ । नाति मकहाँ बसिरहेको थियो, उसले मुमा चाहियो भनेर रोइरहेको थियो, अब... ।’ चण्डिका मधुमेह र उच्च रक्तचापकी बिरामी पनि हुन् । तर, ११ दिनपछि पनि उनलाई सकुशल भेट्दा उद्धारमा खटिएको टोलीसमेत आश्चर्यमा परेको छ ।

चण्डिकाको सकुशल उद्धारको चर्चा भइरहँदा माथिल्लो त्रिशूली १ को सुरुङबाट पनि एकजनालाई जीवितै निकालिएको खबर आयो । ती भाग्यमानी थिए चिनियाँ नागरिक लु हाइताओ । कोरियन टोलीसमेतको संलग्नतामा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उनको उद्धार गरेको हो । लु हाइताओ यो परियोजनामा चार वर्षदेखि कार्यरत थिए । उद्धार गरेर काठमाडौं ल्याइएका उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ राजदूत झाङ माओमिङले लु हाइताओलाई अस्पताल गएर भेटेका छन् । उनका आफन्त भने आइतबार नेपाल आउने जनाइएको छ । 

शुक्रबार उद्धार गरिएका सञ्जय साह र कबिर महर्जनको पनि वीरेन्द्र सैनिक अस्पतालमा उपचार जारी छ । दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । सुरुङभित्र एकपछि अर्को सकुशल उद्धारले बेपत्ताका परिवारमा थप आशा पलाएको छ । सरकारले उद्धारमा ढिलाइ गरेको भन्दै उनीहरूले असन्तुष्टि पनि पोख्दै आएका छन् ।

खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरी, शव व्यवस्थापनमा चुनौती 
भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि उद्धार, राहत र व्यवस्थापनमा आठ हजार नेपाल प्रहरी परिचालित छ । उत्तिकै संख्यामा सशस्त्र प्रहरीको टोली परिचालन भएको छ भने दुई हजारभन्दा बढी सेनाको टिम परिचालित छ । तर, हालसम्म बेपत्ता भएकाको जीवितै उद्धारमा भने कम सफलता मिलेको छ । बाढीको ६० घण्टापछि रसुवाको टिमुरेबाट भग्नावशेषमा पुरिएकी एक बालिका, त्रिशूली थ्री ‘ए’ र माथिल्लो त्रिशूली १ को सुरुङबाट तीनजना तथा वेत्रावतीमा घरभित्रबाट एकजनाको उद्धारमा सफलता मिलेको हो । 

‘उद्धार कार्य निकै जोखिम छ, अझ शव व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ । भेटिएको शव कुहिएको र गलेको अवस्थामा छ,’ नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले भने, ‘त्यसमाथि आफन्तहरूलाई जिम्मा लगाउने वा व्यवस्थापन गर्ने भन्ने पनि चुनौतीपूर्ण{ छ ।’ उनका अनुसार हाल रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ३२ होल्डिङ सेन्टरको सुरक्षामा समेत प्रहरी परिचालन गरिएको छ । हाल बेपत्ताहरूको डिएनए प्रोफाइल बनाउने काम पनि नेपाल प्रहरीले नै गरिरहेको छ । 

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रभावित क्षेत्रमा नौ हजारभन्दा बढी सेना खटिएको बताए । ‘नौ हजारभन्दा बढी सेना खटाएका छौँ, त्यसमा पनि बढी रसुवा र नुवाकोटमै केन्द्रित भएर काम भइरहेको छ, टनेलमा फसेकाको उद्धारका लागि निरन्तर प्रयास छ,’ उनले भने ।

१,३४० शव भेटियो, १,०६७ आफन्तको डिएनए संकलन 
प्रहरीका अनुसार शनिबारसम्म एक हजार ३४० शव भेटिएको छ । ९८ शव मात्रै आफन्तलाई हस्तान्तरण गरिएको छ । त्यस्तै, एक हजार ६७ आफन्तको डिएनए संकलन भएको छ । शनिबारसम्म चार हजार ४४ मानिस बेपत्ता छन् । बाढीबाट प्रभावित भएका तीन हजार ९८ जनाले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

See More On

सुझावित समाचार