बाढीले बगाएको सीमामा उठ्यो राष्ट्रिय झन्डा

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा नेपालको झन्डा राखिएको छ । गोसाईँकुण्ड गाउँपालिका– २, रसुवागढीस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमामा सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले नेपालको झन्डा राखेको हो । 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकाको ठुलो भूभाग बगाएपछि सीमाक्षेत्रमा नेपालको पहिचान देखिने कुनै संकेतसमेत थिएन । यसैलाई मध्यनजर गर्दै नेपाली सुरक्षा टोलीले जोखिमपूर्ण भूभाग पार गर्दै सीमामा झन्डा राखेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए । 

सशस्त्र प्रहरीको बिछौनी टिमुरेबाट गएको टोली जोखिमपूर्ण भिर र बाटो पार गर्दै करिब तीन किलोमिटर दूरी तय गरेर सीमाक्षेत्रमा पुगेको थियो । नेपाली सेनाको टोलीसमेत हेलिकोप्टरमार्फत उक्त स्थानमा पुगेको थियो । दुवै सुरक्षा निकायको संयुक्त टोलीले सीमामा फलामको पोल गाडेर त्यसमा नेपालको झन्डा राखेको हो ।

कस्तो छ रसुवागढी नाकाको अवस्था ? 
१० भदौको विनाशकारी बाढीपछि पहिलोपटक सुरक्षाकर्मी पैदल हिँडेर शनिबार रसुवागढी नाकासम्म पुगेका छन् । सशस्त्र प्रहरीका डिएसपी प्रदीप राईको नेतृत्वमा गएको टोली भिर र अवरुद्ध बाटो पार गर्दै नाकासम्म पुगेको हो । हेलिकोप्टरबाट पुगेका नेपाली सेनाका जवानसँग समन्वय गरी टोलीले नाकास्थित पोलमा पुनः राष्ट्रिय झन्डा फहराएको छ । 

सीमानाकादेखि करिब दुई किलोमिटर तल टिमुरेमा सशस्त्र प्रहरीको बोर्डर आउटर पोस्ट (बिओपी) छ । अहिले उक्त क्षेत्रमा सशस्त्र प्रहरीको बिओपीबाहेक अन्य कुनै सुरक्षा निकायको कार्यालय सञ्चालनमा छैन । नेपाल प्रहरी, नेपाली सेनाका कार्यालय बाढीले बगाएको थियो । 

सशस्त्र प्रहरीको बिओपी भने जोगिएको छ । ड्युटीमा रहेका नौजना कर्मचारीलाई टिमुरेबाट बाढीले बगाएको थियो । तर, कार्यालयमा रहेकाहरू भने जोगिएका थिए । हेलिकोप्टरबाट थप फौज लगेर सो क्षेत्रमा खोज, उद्धार तथा सीमा सुरक्षाको काम भइरहेको छ । 

थप फौज खटिएपछि टिमुरे क्षेत्रबाट १५० भन्दा धेरै शव संकलन गरिएको छ । तर, विकट ठाउँहरूमा अझै सुरक्षाकर्मी पुग्न सकेका छैनन् । हेलिकोप्टर वेलावेलामा गए पनि त्यहाँ सुरक्षाकर्मीले खोज तथा उद्धार गर्न सकेको छैन । 

सशस्त्र प्रहरीको टोली शनिबार भिरको बाटो हुँदै रसुवागढी पुग्दा बाटोमा चारवटा शव भेटिएको थियो । ‘हिँडेर अलिकति तलमाथि जान सक्ने अवस्था छैन,’ एक सशस्त्र प्रहरी अधिकारी भन्छन्, ‘खोलाकिनार क्षेत्रमा धेरै शव हुन सक्छन् ।’ 

सीमा क्षेत्रको मुख्य बजार टिमुरे ९९ प्रतिशत बगाएको छ । बाढीमा जोगिएका केही स्थानीयले पनि सो ठाउँ छाडेका छन् । यो क्षेत्रमा सशस्त्र प्रहरी मात्र रहेको छ । 

चीनद्वारा पुनर्निर्माणलाई तीव्रता 
बाढीको ११ दिन बित्दा पनि नेपालतर्फ खोज तथा उद्धारको काम अझै अधुरै छ । चीनले भने पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ । चीनले सीमाक्षेत्रसम्म पुग्ने कच्ची सडक निर्माण गरिसकेको छ । 

यसैबिच, पहिले अध्यागमन तथा भन्सार कार्यालय रहेको स्थानलाई समेत सम्याएर त्यहाँ नयाँ संरचना निर्माण गर्न थालिएको छ । शनिबार उक्त क्षेत्रमा १८ वटा एक्स्काभेटरमार्फत तीव्रताका साथ निर्माणको काम भइरहेको थियो । बाढीले सीमाक्षेत्रका दुवैतर्फका अधिकांश संरचना बगाएको छ । जसकारण नेपाल–चीनबिचको रसुवागढी नाका पुनः सञ्चालनबारे अन्योल छ । 

सुझावित समाचार