भोटेकोशीको बाढीमा बेपत्ता कर्मचारीको पहिचान गर्न डिएनए नमुना दिन नेपाल विद्युत् प्राधिकरणको आग्रह

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली जलविद्युत् परियोजनाबाट सम्पर्कविहीन भएका ४७ जना कर्मचारीको पहिचानका लागि उनीहरूका नजिकका आफन्तलाई डिएनए परीक्षणका लागि रगतको नमुना दिन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले परियोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि त्यहाँ कार्यरत कर्मचारीहरूसँग सम्पर्कविच्छेद भएको थियो।

शनिबार जारी विज्ञप्तिमा प्राधिकरणले नेपाली सेना तथा सम्बन्धित निकायको समन्वय र सहयोगमा बेपत्ता कर्मचारीको खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। खोजीका क्रममा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङ संरचनाबाट दुईजना कर्मचारीको उद्धार गरिएको छ भने एकजनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बेपत्ता अन्य कर्मचारीहरू भने अझै फेला पर्न सकेका छैनन्। उनीहरूको पहिचानका लागि नेपाल प्रहरीले नजिकका आफन्तबाट डिएनए परीक्षण गर्न ताजा रगतको नमुना संकलन गर्ने जनाएको छ।

प्राधिकरणले बेपत्ता कर्मचारीका सबैभन्दा नजिकका रगतका नातेदारलाई दुईप्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगन्ज वा आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

सुझावित समाचार