मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
शुक्रबार दिल्लीस्थित नेपाली राजदूतावास पुगेर उनले कार्यवाहक राजदूत डा. सुरेन्द्र थापालाई भेट गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा जम्मा हुने गरी १० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।
भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए। साथै सम्पूर्ण उत्तराखण्ड र भारत सरकार नेपाललाई आवश्यक पर्ने हरेक सहयोगका लागि तयार रहेको उनले स्पष्ट पारेका थिए।
यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीको विशेष उपस्थितिमा बाढीका मृतकहरूको स्मरणमा एक श्रद्धाञ्जली सभासमेत सम्पन्न भइसकेको छ।