भोटेकोशीलगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपतबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २८ लाख २० हजार २४९ रूपैयाँ सहयोग प्रदान गरेको छ।
संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषिप्रसाद न्यौपाने, वरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त राहत रकम हस्तान्तरण गरेकाे हाे।
विपतमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता भएका व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामना गरिएको छ।
राहत रकम हस्तान्तरणका क्रममा संस्थाका अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू भुइँमान्छेको घर–घरमा पुगेर सेवा तथा वित्तीय पहुँच विस्तारमा समर्पित रहने भएकाले खाँचो परेको समयमा पनि समाज र समुदायसँगै उभिनुपर्ने बताए। विपतकाे समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले नेरुडे मिर्मिरे सदैव मानवीय हितका कार्यमा सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।