एसिसी प्रिमियर कप : दोस्रो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण
  • नेपालले समूह ‘ए’अन्तर्गत बिहीबार भएको खेलमा घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै सर्वाधिक चार अंक जोड्यो

नेपालले एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिताको समूह ‘ए’अन्तर्गत बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले हरायो । युकेएम युएसडी ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १०३ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर जित निकाल्यो ।

नेपालको जितमा अर्जुन कुमालले अविजित ४५ रनको योगदान गरे । उनले ६८ बलमा चार चौका प्रहार गरे । यसैगरी, ईशान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले अविजित १२ र रोहितकुमार पौडेलले १० रन बनाए । तेस्रो विकेटका निम्ति अर्जुन र ईशानबिच ५७ रनको महत्वपूर्ण साझेदारी भएको थियो । जितसँगै नेपालले समूह ‘ए’मा सर्वाधिक ४ अंक जोडेको छ ।

मलेसिया, हङकङ र बहराइनले समान दुई खेलमा २ अंक जोडेका छन् । रनरेटमा मलेसिया दोस्रो, हङकङ तेस्रो र बहारइन चौथो स्थानमा छन् । यस समूहको पाँचौँ टोली साउदी अरेबिया जितविहीन छ । समूह ‘बी’मा युएई र ओमानले दुई खेलमा शतप्रतिशत जित निकाले । युएई र ओमानले ४ अंक जोडेका छन् । युएई रनरेटमा शीर्ष स्थानमा छ । कुवेतले दुई खेलमा समान दुई खेलमा जित र हार निकाल्दै २ अंक जोडेको छ । कुवेत तेस्रो स्थानमा छ । यस समूहमा सिंगापुर र कतार जितविहीन छन् ।

प्लेयर अफ दी म्याच ट्रफी बाढीपीडितलाई समर्पित
लगातार दोस्रो खेलमा जित निकाल्दा फास्टबलर करण केसीले घातक बलिङ गरेका थिए । मलेसियालाई १०३ रनमा रोक्दा उनले चार विकेट हात पारेका थिए । यसक्रममा करणले ७.३ ओभरमा दुई मेडन राख्दै २३ रन खर्चिए । खेलमा प्लेयर अफ दी म्याच बनेका करणले ट्रफी भोटेकोशी बाढीपीडित र उद्धारमा खटिएकालाई समर्पित गरेका छन् । ‘भोटेकोशीको बाढीबाट विपत्मा परेकालाई समर्पित गर्छु,’ उनले भने । समूह ‘ए’मा नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेल २१ भदौमा साउदी अरेबिया र अन्तिम खेल २३ भदौमा हङकङसँग खेल्नेछ । समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ । २०२७ को एसिया कपमा छनोट हुनका लागि विजेता हुनुपर्नेछ ।

नेपालको कसिलो बलिङ
मलेसियाविरुद्ध नेपाली बलरले कसिलो बलिङ गरेका छन् । सुरुवातमा करणले दिलाएको सफलतामा अन्य चार बलरले पनि विकेट लिए । हमेन्त धामीले ६ ओभरमा २४ रन खर्चेर एक विकेट लिए । स्पिनर दीपेन्द्रसिंह ऐरीले पाँच ओभरामा १५ रन दिँदै एक विकेट हात पारे । कप्तान सन्दीप लामिछानेले आठ ओभरमा २२ रन खर्चेर एक विकेट लिए । ललित राजवंशीले १८ रन दिएर दुई विकेट लिए ।

मलेसियाको ब्याटिङमा कप्तान सायेद अजिजले ४९ बलमा समान दुई चौका र छक्का प्रहार गरी सर्वाधिक ३० रन जोडे । वीरदीप सिंहले २६ बलमा १४ तथा अक्विल वाहिदले ३९ बलमा दुई चौको सहयोगमा २४ रन बनाए । तीनजना खेलाडी शून्यमा आउट भए । मलेसियाले साउदी अरेबियालाई ९३ रनले पराजित गरेको थियो । 

सुझावित समाचार