उद्योगमन्त्री गौरी यादवले होटेल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छिन्। बाढीका कारण पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटेल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन्।
बाढीले कृष्णिरमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटेल व्यवसायीलाई आवश्यक ग्यास आफैँ आयात गर्नसमेत मन्त्री यादवले आग्रह गरिन्। त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनले बताइन्।
मन्त्री यादवले होटेल व्यवसायका लागि छुट्टै र घरायसी प्रयोजनका लागि छुट्टै सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिइन्। होटेलमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको सिलिन्डर ठुलो बनाउनुपर्ने प्रस्तावसमेत उनले अघि सारिन्।
उनले होटेल व्यवसायलाई बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै देशको अर्थतन्त्र र पर्यटन क्षेत्र चलायमान बनाउन होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताइन्। अहिलेको अवस्थामा भने उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास आपूर्तिलाई सहज बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
छलफलमा होटेल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले अहिले पनि बढी रकम तिरेपछि मात्र ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गरे। व्यवसायीहरू ग्यासको विकल्पमा विद्युतीय चुलोतर्फ जान तयार रहेको प्रस्ट पार्दै उनले होटेल व्यवसायलाई उद्योगको रूपमा नहेरी महँगो विद्युत् महसुलमा राखिएकाले समस्या भएको बताए।
होटेल प्रयोजनका लागि ग्यास सिलिन्डर १९ केजी बनाउने विषयमा भने व्यवस्थापन पक्षलाई व्यवस्थित बनाएर मात्र अघि बढेमा आफूहरूको साथ रहने अध्यक्ष शाहले बताए।