भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको सहयोगका लागि धनगढीको केजी अस्पतालले १२ लाख दुई हजार ७७४ रुपैयाँ सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा बिहीबार जम्मा गरिएको अस्पतालले जनाएको छ।
बाढीपीडितको राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भनेर अस्पतालको एक साताको सम्पूर्ण आम्दानी सहयोग गरेको केजी अस्पताल प्रालिका सहायक प्रबन्ध निर्देशक वसन्त अवस्थीले बताए। अस्पतालको ११ देखि १७ भदौसम्मको सबै आम्दानी ११ लाख ५१ हजार ६६३ रुपैयाँ र कार्यरत कर्मचारीको तर्फबाट थप ५१ हजार १११ रुपैयाँ बाढीपीडितका लागि सहयोग गरिएको उनले जानकारी दिए।
अस्पतालमा कार्यरत नर्सिङ, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूले आफ्नो तर्फबाट स्वैच्छिक रूपमा सहयोग गरेको अस्पतालले जनाएको छ। ‘बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, आपतकालीन चिकित्सा सेवा र पुनर्स्थपनामा सहयोग पुगोस् भनेर अस्पतालको सात दिनको सबै कलेक्सन तथा कर्मचारी साथीहरूको स्वैच्छिक सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ,’ अवस्थीले भने।