रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म एक हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९० वटा रहेका छन्। भारतमा फेला परेका तथा नवलपरासी पश्चिममा बुझाइएका १८ वटा शवसमेत गरी कुल संख्या एक हजार २५२ पुगेको प्रहरीले जनाएको छ।
हालसम्म ९५ वटा शव आफन्तलाई बुझाइएको छ। पहिचानका लागि डिएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी ८९७ वटा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शवमध्ये २१३ महिला, ३१४ पुरुष र ३७० जनाको लिंग पहिचान हुन सकेको छैन। त्यस्तै, पहिचान हुन नसकेका ९५९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीले अझै बेपत्ता रहेका चार हजार ८७५ जनाको खोजी कार्य जारी राखेको जनाएको छ। यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा तीन हजार १२६ जनालाई राखिएको छ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा सार्ने, स्थानीयवासी तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार र खोजी कार्य सञ्चालन गर्ने तथा बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत गरिरहेको जनाएको छ।