मकवानपुरको ज्वालादेवीमा आगलागी हुँदा एक घर जलेर नष्ट

आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण
मकवानपुरको ज्वालादेवीमा आगलागी हुँदा एक घर जलेर नष्ट

एआईद्वारा सिर्जित तस्बिर

मकवानपुरगढी गाउँपालिका– ४, ज्वालादेवीमा आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट करिब २५ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार बुधबार राति करिब ११ बजे स्थानीय इन्द्रबहादुर कठायतको इँटा र काठले बनेको जस्ताको छानो भएको दुईकोठे कच्ची घर तथा सँगै रहेको भान्साघरमा एक्कासि आगलागी भएको थियो ।

आगलागी भएको खबर राति साढे ११ बजे प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । आगलागीको खबर पाएपछि पुगेको हेटौँडा उपमहानगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बिहीबार बिहान करिब १ः३० बजे आगो पूर्ण रूपमा निभाइएको थियो।

आगलागीबाट घर र भान्साघर पूर्ण रूपमा जलेका छन् । आगलागीले लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार, चार तोला सुन, एउटा मोटरसाइकल, एउटा फोटोग्राफी क्यामेरा तथा एउटा कम्प्युटर कम्प्लिट सेट जलेर नष्ट भएको पीडितले बताएका छन् । पीडितका अनुसार आगलागीबाट करिब २५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

घरमा आगलागी हुँदा परिवार छिमेकीको घरमा बसेका कारण कुनै मानवीय तथा पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा करेन्ट सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार