- आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्षका आ–आफ्नो महाधिवेशन कार्यतालिका, १६–१९ असोजमै १५औँ महाधिवेशन गर्ने संस्थापनको गृहकार्य चलिरहेका वेला इतर समूह २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशनको तयारीमा
कांग्रेसमा १५औँ महाधिवेशनको मिति तय गर्ने विषयमा संस्थापन र इतर पक्षबिच समानान्तर तयारी अघि बढेको छ । गगन थापा नेतृत्वको संस्थापन पक्षले १६–१९ असोजमै १५औँ महाधिवेशन गर्ने कार्यतालिकाअनुसार काम थालेकै वेला इतर समूहले पनि मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका अघि सारेको छ ।
आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्षले आ–आफ्नो महाधिवेशन कार्यतालिका अघि सारेका छन् । यसले कांग्रेसभित्रको नेतृत्व, क्रियाशील सदस्यता र महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद निर्णायक चरणमा प्रवेश गराएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेको छ । बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको महाधिवेशन तयारी समितिको बैठकले भदौमा वडा, असोजमा पालिका, कात्तिकमा जिल्ला र मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गरी २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको हो ।
डा. शशांक कोइरालाको संयोजकत्वमा बसेको बैठकमा तयारी समितिका तर्फबाट पूर्वमहामन्त्री उमाकान्त चौधरीले कार्यतालिका प्रस्तुत गरेका थिए । प्रस्तावअनुसार क्रियाशिल सदस्यता विवाद ६ असोजसम्म टुंग्याएर १५ असोजमा वडा, २० असोजमा पालिका र २३ असोजमा प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन गर्ने तयारी छ । त्यसपछि १५ कात्तिकमा जिल्ला र ४ मंसिरमा प्रदेश अधिवेशन सकेर २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव छ ।
महाधिवेशनबारे छलफल गर्न २० भदौका लागि गगनले बोलाए बैठक
गगन थापा नेतृत्वको संस्थापनले १६–१९ असोजका लागि तय भइसकेको १५औँ केन्द्रीय महाधिवेशनको तयारीमाथि छलफल गर्न २० भदौमा पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । संस्थापनको कार्यतालिकाअनुसार २४ भदौमा वडा अधिवेशन हुँदै छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि सूचित र त्यसमा दुई एजेन्डा तय भएको कार्यवाहक महामन्त्री गुरुराज घिमिरेले बताए । ‘बाढी प्रभावितलाई पार्टीले बुझाउने राहतको विषयमा मुख्य छलफल हुन्छ । विपत्मा परेकालाई कांग्रेसको संयन्त्र परिचालन गरेर कसरी बढीभन्दा बढी राहत पुर्याउने भन्नेमा छौँ,’ घिमिरेले भने, ‘अर्को एजेन्डा महाधिवेशनसम्बन्धी छ । निर्धारित समयमा नै १५औँ महाधिवेशन हुन्छ ।’
देउवा समूहले घोषणा गरेको कार्यतालिकाप्रति उनले अनभिज्ञता प्रकट गरे । उनले भने, ‘पत्रपत्रिकामा समाचार धेरै आउँछन्, त्यसमध्येको एक हो त्यो पनि । त्यसबारे हामीलाई औपचारिक जानकारी छैन,’ घिमिरेले नयाँ पत्रिकासँग भने ।