उदयपुरमा ३८ महिनाको अवधिमा चार हजार किलोग्रामभन्दा बढी गाँजा बरामद, ९९ जना पक्राउ

बुधबार, १७ भदौ, २०८३
डिजिटल संस्करण

उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३८ महिनामा चार हजार ३७६.५८४ किलोग्राम गाँजा बरामद गर्दा ९९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष ०८०/८१ देखि चालू आर्थिक वर्ष ०८३/८४ को हालसम्मको दुई महिनाबिच उक्त परिमाणको गाँजा बरामद गर्दै ६४ वटा लागुऔषधविरुद्धका मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३८ महिना अर्थात् तीन वर्ष दुई महिनाको अवधिमा उक्त परिमाणको गाँजा बरामद गरी नष्टसमेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी गणेशबहादुर बमका अनुसार आर्थिक वर्ष ०८०/८१ मा २४८.०८५ केजी गाँजा बरामद गर्दा २७ जना पक्राउ परेका थिए । त्यस अवधिमा १८ वटा लागुऔषधविरुद्धका मुद्दा दर्ता गरिएको थियो ।

यसैगरी आर्थिक वर्ष ०८१/०८२ मा एक हजार ७५३ केजी गाँजा बरामद गर्दा ३९ जना पक्राउ परेका थिए । त्यसमा २७ वटा मुद्दा दर्ता गरिएको थियो । गत आर्थिक वर्ष ०८२/८३ मा एक हजार ४८.४९९ केजी गाँजा बरामद गर्दा २८ जना पक्राउ परेका थिए । त्यसमा १६ वटा लागुऔषधविरुद्धका मुद्दा दर्ता गरिएको छ ।

यसैगरी चालू आर्थिक वर्ष ०८३/८४ को साउन र भदौमा मात्र एक हजार ३२७ किलोग्रामभन्दा बढी गाँजा बरामद गरी चारजनालाई पक्राउ गरिएको छ । पछिल्लोपटक सोमबार बिहान मात्र कटारी नगरपालिका– ६ बाँकेटारस्थित शान्तिवनबाट प्रहरीले एक हजार १२२.६७ किलोग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार शान्तिवन क्षेत्रमा खोजतलास गर्ने क्रममा जंगलभित्र लुकाइछिपाई राखिएको अवस्थामा ५२ बोरामा प्याक गरिएको गाँजा बरामद भएको थियो । एसपी चापागाईं भन्छन्, ‘पहाडी क्षेत्रबाट तराईतर्फ गाँजा ढुवानी हुने थाहा पाएपछि पछिल्लो समय एउटा गोप्य अभियान चलाएका छौँ । त्यसकै आधारमा दुई महिनाको बिचमा ठुलो परिमाणमा गाँजा बरामद गरी अनुसन्धान गरिरहेका छौँ ।’

सुझावित समाचार