ढिलासुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी

बुधबार, १७ भदौ, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले पटक–पटक म्याद थप गर्दा पनि निर्माणमा ढिलाइ गर्ने बहुवर्षीय सडक आयोजनाको ठेक्का तोड्ने चेतावनी दिएको छ । बहुवर्षीय योजनाअन्तर्गत रहेका ठुला आयोजना पटक–पटक म्याद थप गर्दा पनि वर्षौँदेखि अलपत्र भएपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले  ठेक्का तोड्ने चेतावनी निर्माण कम्पनीलाई दिएको हो ।

संखुवासभाको गुफापोखरी–चैनपुर–बाह्रबिसे १९.२ किलोमिटर सडक र मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवाबेँसी १४.४ किलोमिटर सडक सात वर्ष लागिसक्दा पनि निर्माण पूरा भएको छैन । निर्माणमा हेलचेक्राई भएको पाइएपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले ठेकेदार कम्पनीलाई मन्त्रालयमै बोलाएर तोकिएको समयसीमाभित्र प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिए । उनले भने, ‘कुनै पनि आयोजनालाई कसैले पनि ‘क्रोनिक’ बनाउन पाइनेछैन । यस वर्ष पनि काम सम्पन्न नभए अर्कोपटक म्याद थपिने छैन र धरौटी जफत गरेर कानुनअनुसार कारबाही गरिनेछ ।’ 

मन्त्रालयका अनुसार संखुवासभाको गुफापोखरी–चैनपुर–बाह्रबिसे १९.२ किलोमिटर सडकको सम्झौता अमर कन्स्ट्रक्सन प्रालिसँग १५ कात्तिक ०७६ मा भएको थियो । ६२ करोड ३७ लाख रुपैयाँमा ३६ महिनाभित्र सक्ने सम्झौता भए पनि सात वर्ष बित्न लाग्दासमेत सडक निर्माण पूरा भएको छैन । पटक–पटकको भेरिएसनले लागत बढेर ७१ करोड ७० लाख पुगे पनि भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत मात्रै छ । १०.५ किलोमिटर मात्र कालोपत्रे भएको यो सडकको बाँकी काम आगामी १५ कात्तिकभित्र सक्नुपर्ने अन्तिमपटकको सम्झौता छ ।   

त्यस्तै, मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवाबेँसी १४.४ किलोमिटर सडकको निर्माण प्रगति पनि सन्तोषजनक छैन । याक्थुम्हाङ–खाम्पाचे जेभीले ०७७ कात्तिकमा ४४ करोड सात लाखमा ठेक्का पाएको यस आयोजनाको प्रगति ६५ प्रतिशत मात्र छ । २४ महिनामा सक्ने भनिए पनि हालसम्म ३० करोड २२ लाख भुक्तानी लगिसक्दा पनि काम अलपत्र छ ।

बैठकपछि निर्माण कम्पनीले आगामी १५ पुसभित्र सात किलोमिटर कालोपत्रेसहित ८५ प्रतिशत भौतिक प्रगति गर्ने र ३० पुसभित्र आयोजना सम्पन्न गर्ने  नभए कानुनबमोजिमको कारबाही भोग्न तयार रहेको कम्पनीले सहमति गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङथेपले सडक निर्माणमा भएको ढिलाइले प्रदेश  सरकार र संघीयताप्रति जनतामा वितृष्णा पैदा भएको बताए । ‘सडकको दुरवस्थाका कारण जनताले ठुलो सास्ती खेप्नुपरेको छ । सामाजिक सञ्जालमा मन्त्री र सांसदहरूलाई ट्याग गरेर जनताले आक्रोश पोखिरहेका छन्, यसको जवाफदेही निर्माण व्यवसायी हुनुपर्छ,’ उनले भने ।

सुझावित समाचार