नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष लगानी न्युज डटकमका सम्पादक आशिष ज्ञवालीलाई प्रदान गरिने भएको छ।
डा. हरिहरदेव पन्त फाउन्डेसनले स्थापना गरेको उक्त पुरस्कार डा. पन्तको ११औँ वार्षिक स्मृति दिवस पारेर यही भदौ २१ गते आइतबार ज्ञवालीलाई प्रदान गरिने भएको हो।
विगत २० वर्षभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका ज्ञवालीलाई पुरस्कारस्वरूप एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने निर्णय भएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले ०७४ सालदेखि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।
जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो। यस फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघसंस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ।
यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमशः नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल, यज्ञ बञ्जाडे, कृष्ण रिजाल तथा यादव हुमागाईंलाई प्रदान गरिएको थियो।