एनभिएलमा एकैदिन तीन विदेशी खेलाडी आबद्ध

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) लिगमा सोमबार तीन विदेशी खेलाडीहरू विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध भएका छन् । अन्नपूर्ण स्पाइकर किंग्सले लगातार तेस्रो दिन विदेशी खेलाडीका रूपमा मंगोलियन राष्ट्रिय टोलीका सेटर तुर्मान्डाख गान्खुयागलाई अनुबन्ध गरेको छ । अन्नपूर्णले तीन विदेशी खेलाडीको कोटा पूरा गरेको छ । अन्नपूर्णले आबद्ध गरेका तीनजना खेलाडी नै मंगोलियन हुन् । 

उसले आउटसाइड हिटर उरानबायर मंखबायर र अप्पोजिट हिटर इंख एर्डेन जारगालसोटलाई अनुबन्ध गरेको थियो । यसैगरी, कर्णाली शिवराजले विदेशी खेलाडीका रूपमा पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई भित्र्याएको छ । एनभिएलमा आबद्ध टोलीमध्ये सगरमाथा स्म्यार्सले पाकिस्तानी खेलाडी आइमल खानसँग सम्झौता गरेको छ । सगरमाथाले पहिलो विदेशी खेलाडीका रूपमा अप्पोजिट हिटर खानलाई भित्र्याएको हो । 

उनी लिग खेल्न नेपाल आइसकेका छन् । तीनै विदेशी खेलाडी मंगोलियाबाट अनुबन्ध गरेपछि अन्नपूर्ण सहभागीमध्ये सन्तुलित टोली बनेको छ । अन्नपूर्णले गण्डकी प्रदेशका खेलाडीलाई प्राथमिकतामा राखेको छ । गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडीको रूपमा छन् । स्वदेशी र विदेशी खेलाडीको मिश्रण अन्नपूर्णले पहिलो संस्करणमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको छ ।

संकलित रकम बाढीपीडितलाई सहयोग गर्ने
एनभिएलको पहिलो दिनमा आयोजना हुने टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । एनभिएलले रसुवा बाढीपीडितको सहयोग गर्ने घोषणा गरेको हो । एनभिएलको सबै खेलको टिकट आइएमई खल्ती लिमिटेडबाट खरिद गर्न सकिन्छ । १४ भदौदेखि आइएमई खल्तीबाट टिकट बुकिङ खुला राखेको आयोजकले जनाएको छ ।

पाकिस्तानका अनुभवी अपोजिट हिटर खान सगरमाथामा अनुबन्धित
हेल्प नेपाल स्पोर्टस् क्लब र गण्डकी प्रदेशबाट नेपालमा आयोजना हुने घरेलु प्रतियोगिता खेलिसकेका खान सगरमाथामा पहिलो विदेशी खेलाडीका रूपमा आएका छन् । लिगमा प्रतिस्पर्धा गर्न उनी काठमाडौं आइसकेका छन् । उनी अपोजिट हिटर हुन् । उनीसँग इन्डोनेसिया, कतार, साउदी अरेबिया, टर्की, थाइल्यान्ड, चिली, इरान, ओमान र युएईको क्लबबाट खेलेको अनुभव छ । सगरमाथाको प्रशिक्षकमा उत्सव खड्का छन् । हरिहजुर थापा मार्की रहेको सगरमाथाले अक्सनबाट सुवास कुँवर, भीमबहादुर गाहा, दीपकराज जोशी, रुपेन्द्र नेपाली, सन्जोग परियार, रेशम छन्त्याल, रमेश बमलाई भित्र्याएको थियो । पछि रेशमले नाम फिर्ता लिएपछि सगरमाथाले लीला डाँगीलाई टोलीमा समावेश गरेको थियो । एनभिएलको पहिलो संस्करण आगामी १९ भदौदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुँदै छ ।

कर्णालीले भित्र्यायो पहिलो विदेशी खेलाडी 
कर्णालीले एनभिएल लिगमा पहिलो विदेशी खेलाडीका रूपमा पोल्यान्डका सेटर एमिलियनलाई अनुबन्ध गरेको हो । लिगका लागि टोलीलाई थप बलियो बनाउने क्रममा कर्णालीले अनुभवी खेलाडीसँग सम्झौता गरेको जनाएको छ । सेटरको भूमिकामा रहने एमिलियनले टोलीको खेल सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

उत्कृष्ट सेटर उपाधि जितेका तुर्मान्डाख अन्नपूर्णमा
२८ वर्षीय अनुभवी सेटर तुर्मान्डाख मंगोलिया राष्ट्रिय टोलीका प्रमुख खेलाडीमा पर्छन् । उनीसँग अन्तर्राष्ट्रिय स्पर्धा, मंगोलियन लिग र एसियाको क्लब भलिबल प्रतियोगितासमेत खेलेको अनुभव छ । उनले हालै भएको घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल पुरुष भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए । उनले सन् २०२३ मा पनि काभा नेसनल लिगमा कांस्य जितेका थिए । उनले मंगोलियन प्रिमियर लिगमा दुईपटक उत्कृष्ट सेटरको अवार्ड जितेका छन् । ६ फिट अग्ला तुर्मान्डाखले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद र एभिसी च्यालेन्ज कप पनि खेलेका थिए । सन् २०२३ मा मंगोलियन क्लब बायनखोन्गोरबाट तुर्मान्डाखले एभिसी पुरुष क्लब भलिबल च्याम्पियनसिपसमेत खेलेका थिए । 

See More On

सुझावित समाचार