ताप्लेजुङ जिल्लामा सञ्चालित चौथो अन्तर्राष्ट्रिय आमन्त्रित ‘ताप्लेजुङ गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै झापा ११ सेमिफाइनलमा पुगेको छ।
फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार भएको खेलमा झापा ११ ले पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। झापा ११ को जितसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।
अध्यक्ष मादेनका अनुसार पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र सिराहाको सलहेस युथ क्लब यसअघि नै सेमिफाइनल पुगेका छन्।
मंगलबारदेखि सेमिफाइनल चरणको खेल सुरु हुनेछ। सेमिफाइनलको पहिलो खेल जर्जियन युनाइटेड फुटबल क्लब र सलहेस युथ क्लबबिच हुने छ। यस्तै, दोस्रो सेमिफाइनल खेल फिदिम स्पोर्टिङ क्लबर र झापा ११ बिच हुने आयोजकले जनाएको छ।
झापासँग पराजित भएसँगै नेपाल पुलिस क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ। सोमबारको खेलमा झापा ११ का खेलाडी सुमित श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।
प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुने छ। यस वर्ष प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ।