भृकुटीमण्डपमा हुने भनिएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ स्थगित भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट प्रालिले संयुक्त रूपमा भदौ १९ देखि २१ गतेसम्म प्रदर्शनी गर्न लागेका थिए। भोटेकोशी बाढीले सिर्जना गरेको कठिन र दुःखद परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शनी हाललाई स्थगित गरिएको आयोजकले जनाएका छन्।
‘प्राकृतिक विपत्तिले पुर्याएको ठुलो जनधनको क्षति र नागरिकहरूले भोग्नुपरेको अपार कष्टका बिच व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु हाम्रा लागि मानवीय दृष्टिकोणले पनि उचित देखिएन,’ विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारले सुरक्षा सचेतना तथा भारत र चीन सरकारले ट्राभल एड्भाइजरी जारी गरेको उल्लेख गर्दै आयोजकले भनेका छन्, ‘सहभागी, प्रदर्शक र आगन्तुकहरूको सुरक्षा तथा यात्राको सहजता हाम्रो पहिलो प्राथमिकता भएकाले यो आयोजना हाललाई स्थगित गरिएको हो।’
अवस्था सामान्य भई यातायात र पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने बताइएको छ।