उदयपुरमा एक हजार १२२ केजीभन्दा बढी गाँजासहित तीनजना पक्राउ

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका– ६, बाँकेटारस्थित शान्तिवनबाट प्रहरीले एक हजार १२२.६७ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजे शान्तिवन क्षेत्रमा खोजतलास गर्ने क्रममा जंगलभित्र लुकाइछिपाई राखिएको अवस्थामा ५२ बोरामा रहेको गाँजा बरामद गरेको हो ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको बा.१६च ५२६९ नम्बरको बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका– १, डाँडागाउँका अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बरामद गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएर पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको चापागाईंले जानकारी दिए । 

गत भदौ ८ गते राति कटारी नगरपालिका– ४, मरुवा खोलाबाट प्रतिबन्धित १९९ केजी गाँजा टिपरसहित एकजना मानिस पक्राउ परेको थियो । बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा टिपरसहित गाँजा बरामद भएको थियो । एसपी चापागाईंले भने, ‘प्रहरीले गाँजासम्बन्धी विशेष अपरेसन चलाइरहेकाले उक्त गाँजा फेला परेको हो । हामी पहिलाको र अहिलेको दुवैको अनुसन्धानमा छौँ ।’

 

सुझावित समाचार