नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।
सन्दीपले नेपाल क्रिकेट संघ (क्यान)बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक एक लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिने जानकारी दिएका हुन् । एसिसी प्रिमियर कप खेल्न मलेसियामा रहेका सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा भए पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन् । उनले कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रतियोगिताभर नेपालको प्रदर्शनलाई प्रभावित नेपालीका लागि समर्पित गर्ने बताएका छन् ।
एसिसी प्रिमियर कपभरि नेपालले लिने हरेक विकेटका लागि १५ सय रुपैयाँ, हरेक चौका तथा छक्काका लागि १५ सय रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । ‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन,’ सन्दीपले भने । यसअघि क्यानले दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।