प्रेरक प्रसंग : मित्रताको न्यानोपन

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

सन्तोषलाई पैसाको निकै खाँचो थियो । उनले आफ्ना मालिकसित सहयोग मागे । मालिक पैसा दिन तयार पनि भए । तर, उनले एक सर्त राखे । सन्तोषले हिउँले ढाकिएको पहाडको माथिल्लो भागमा आगो नबालीकन र बाक्ला लुगा, कपडा नलगाईकन एक रात बिताउनुपर्ने सर्त थियो । सन्तोषले त्यस्तो गर्न सकेको खण्डमा उनले मागेको रकम फिर्ता गर्नु नपर्ने गरी पुरस्कारका रूपमा पाउने थिए । त्यो सर्त पूरा गर्न नसकेमा उनले थप ६ महिना सित्तैमा मालिकको काम गर्नुपर्ने थियो ।

अर्को दिन सर्त पूरा गर्ने सहमतिसाथ साँझ सन्तोष पसलबाट घरतिर फर्किए । चिसो निकै बढिसकेको थियो । आफूले सर्त स्विकारेर गलत गरेको उनलाई महसुस हुन थाल्यो । बाटामा उनले आफ्ना प्रिय मित्र मनोजलाई भेटे । उनले आफ्नो समस्या मनोजलाई बताए । 

सन्तोषको समस्या बुझिसकेपछि मनोजले भने— तिमी चिन्ता नगर । म तिम्रो मद्दत गर्छु । भोलिको रात जब तिमी पहाडको माथिल्लो भागमा हुनेछौ, ठिक अगाडिको पहाडमा हेर्नू, म तिम्रा लागि त्यहाँ पूरै रात आगो बालेर जागराम बस्नेछु । तिमी आगो हेर्दै हाम्रो मित्रता, बाल्यकाल र अहिलेको संघर्षमय दिनबारे सोचिरहनू, त्यसले तिमीलाई अवश्यै न्यानो दिनेछ । जब तिमीले आफ्नो सर्त पूरा गर्नेछौ, त्यसपछि म तिमीसित केही माग्नेछु । 

भोलिपल्टको रात सन्तोष पहाडको माथिल्लो भागमा पुगे । उनको ठिक अगाडि रहेको अर्को पहाडको माथिल्लो भागमा आगो बालेर मनोज बसेका थिए । आफ्ना मित्रको हिम्मत र साथले सन्तोषले जसोतसो रात कटाए । मालिकले उनलाई इनामका रूपमा सर्तअनुसारको रकम दिए । 

इनाम हात पर्नासाथ सन्तोष मनोजको घर पुगे । उनले भने– मनोज, तिमीले मैले इनाम जितेपछि केही माग्छु भनेका थियौ । अब भन, तिमीलाई म कति पैसा दिऊँ ? मनोजले भने– हो, मैले तिमीसित केही माग्छु भनेको थिएँ, तर यो पैसा माग्छु भनेको थिइनँ । म तिमीबाट एक वचन चाहन्छु । मेरो जीवनमा पनि यसैगरी चिसो हिउँमिश्रित सिरेटो चल्यो भने तिमी पनि मेरा लागि मित्रताको आगो बाल्न तयार हुनेछौ । सन्तोषले तत्काल मनोजलाई अंकमाल गरे र जीवनभर अटुट मित्रता कायम राख्ने वाचा गरे ।

सुझावित समाचार