भोटेकोशी बाढीका कारण क्षति पुगेका मोबाइल टावर मर्मतपछि पुनः सञ्चालनमा आउन थालेका छन् । सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले प्रभावित जिल्लाहरू रसुवा र नुवाकोटका विभिन्न स्थानका मोबाइल टावर मर्मत–सम्भारपछि पुनः सञ्चालनमा ल्याइएका हुन् । यससँगै त्यस क्षेत्रमा सञ्चारमा सहजता बढ्दै गएको छ ।
हालसम्म बाढीबाट क्षति पुगेको नेपाल टेलिकमका एक सय २० साइटमध्ये ९३ साइट सञ्चालनमा आइसकेका छन् । अन्य साइट पनि पुनः सञ्चालनका लागि प्रयास भइरहेको टेलिकमले जनाएको छ । त्यस्तै, एनलेसका २७ मध्ये २१ साइट सञ्चालनमा आइसकेका छन् । बाँकी ६ वटा टावर पनि पुनः सञ्चालनका लागि कार्य भइरहेको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्री–ए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा पुनः सुरु गरेको छ । यसबाट उक्त जलविद्युत् आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारकार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने टेलिकमले जनाएको छ ।
टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारीसाधनको प्रयोग गरी तथा झन्डै एक घण्टा दूरीसम्म मानव ढुवानीमार्फत टावरसम्म पुर्याइएको थियो । कम्पनीका प्राविधिकले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन् । यसैगरी, रसुवा जिल्लाकै तुप्चे बिटिएस पनि शनिबारदेखि नै सञ्चालनमा आएको छ । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिक त्रिशूलीबाट साइटसम्म हेलिकोप्टरमार्फत पुगेका र साइट सञ्चालन गरेका हुन् । उक्त साइटबाट त्रिशूली थ्री–बी आयोजना स्थलआसपास, वेत्रावती तथा कालिकास्थानको केही भागमा सेवा पुनः सुरु भएको छ ।
उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावरमार्फत पनि सेवा सुचारु भएको छ । यसैगरी, नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बिटिएस पनि बिहीबारदेखि सञ्चालनमा आएका छन् । एनसेलले बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क सेवा दिने भएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि शनिबारबाट लागू हुने गरी थप सात दिन बढाएको छ ।