अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको बलरामा दुई युवकको मृत्यु भएको छ भने एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्।
शुक्रबार राति ९ बजेको समयमा बलरा नगरपालिका–७, डुमरियास्थित नयाँरोड–मधुवनी सडकखण्डमा भारतीय नम्बर बिआर ३० एएल ३१८० को मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बलरा नगरपालिका–६ का १७ वर्षीय अविनाश बैठा र १८ वर्षीय रोहित बैठाको उपचारका क्रममा मृत्यु भएको हो। अविनाशको प्रादेशिक अस्पताल मलंगवामा राति १०ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो भने रोहितको थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बिहान २ः३० बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
उनीहरू तीनजना सवार मोटरसाइकल कालोपत्रे सडकबाट ५.५ फिट तल नहरको साइफनमा ठोक्किन पुगेको थियो।
प्रहरीका अनुसार मृतक दुवैको शरीरका विभिन्न भागमा गहिरो चोट देखिएको छ। दुर्घटनामा भारतको बिहार राज्य, सीतामढी जिल्ला, बथनाहा थाना, रनैउली–१० घर भई बलरा नगरपालिका–६ मा बस्दै आएका २४ वर्षीय शनिकुमार बैठा गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको अवस्थामा वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको शरीरको भित्री भागमा समेत चोट रहेको चिकित्सकहरूले आशंका गरेका छन्।
मृतक दुवै युवकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरी प्रवक्ता डीएसपी गौतमले जानकारी दिए। इलाका प्रहरी कार्यालय गडहियाले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको प्रहरी नायब निरीक्षक इन्द्रभूषण मिश्राले जानकारी दिए। तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको आशंका गरिएको प्रहरीले जनाएको छ।