प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार गण्डकी प्रदेश सरकारका तर्फबाट एक अपिल जारी गर्दै विपतपीडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा चार करोड प्रदान गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
मुख्यमन्त्रीले रसुवामा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएको तथा नागरिकहरू प्रभावित भएकामा यस कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन हार्दिक अपिलसमेत गरेका छन् ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुरलगायत विभिन्न स्थानमा आएको बाढी तथा त्यसबाट सिर्जित विपत् कुनै एक जिल्ला वा क्षेत्रको मात्र पीडा होइन, यो सम्पूर्ण नेपालीको साझा पीडा र चुनौती हो । संकटको यस घडीमा पीडितको साथमा उभिनु र प्रभावित परिवारलाई सहयोग गर्नु हामी सबैको साझा मानवीय दायित्व रहको जारी अपिलमा उल्लेख छ ।
विपतमा परी ज्यान गुमाउनुहुने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण सगै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत अपिलमार्फत गरेका छन्।
बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा स्वदेश एवं विदेशबाट धार्मिक तथा अन्य यात्राका लागि रसुवा, नुवाकोट पुगेका नागरिकहरूसमेत प्रभावित भएको र कतिपय नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जानकारी प्राप्त भइरहेको छ । विशेष गरी धार्मिक यात्राका क्रममा रसुवा पुगेका केही नागरिक सम्पर्कविहीन रहेको खबरले थप चिन्ता उत्पन्न गरेको छ । सम्पर्कविहीन नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन, भेटिएका शवहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ र खोजी कार्यलाई तीव्र बनाउन गण्डकी प्रदेश सरकारले आफ्नोतर्फबाट समन्वय गरिरहेको जारी अपिलमा उल्लेख छ।
यस विपतको घडीमा सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गर्दै गण्डकी प्रदेश सरकार आफ्नो सामर्थ्यअनुसार उद्धार, खोजी, उपचार तथा राहतका कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतासमेत मुख्यमन्त्रीले जारी अपिलमार्फत गरेका छन् ।