प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।
विभिन्न १० वाणिज्य बैंकहरूमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार नौ सय ११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका थिए । बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठुलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो ।
कोषमा बचत रकम पुग्यो चार अर्ब नौ करोड
यससँगै कोषमा बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार पुगेको छ । यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार सात सय ५९ रुपैयाँ बचत थियो । बिहीबार ६ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो । यो सहायता रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन । सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन् ।
२७ संस्था एवं व्यक्तिबाट राहत कोषमा शुक्रबार ३८ करोड ५५ लाख जम्मा
रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एकै दिन ३८ करोड ५५ लाखबराबर सहयोग प्राप्त भएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था एवं व्यक्तिले उक्त रकम सहयोग गरेका हुन् । जसअनुसार कोषमा सूर्य नेपाल प्रालिले १५ करोड, प्राइम बैंकले तीन करोड १० लाख, कृषि विकास बैंकले तीन करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५१ लाख, हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख, एग्रो थाई फुड्स प्राइभेट लिमिटेडले एक करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड एक लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रतिनिधिले एक करोड रुपैयाँ कोषका लागि हस्तान्तरण गरे ।
उद्योगी विजयकुमार शाहले एक करोड, पद्मज्योति समूहको स्याकार ट्रेडिङले एक करोड, राजी राणाले व्यक्तिगत रूपमा एक करोड नौ लाख ८० हजार रुपैयाँ कोषमा योगदान गरे ।
यस्तै, डब्लुडब्लुएफ नेपालले एक करोड, मोरङ अटो वर्क्सले एक करोड ११ लाख र जावलाखेल डिस्टिलरीले एक करोड, हिमालयन डिस्टिलरीले एक करोड, अल्फा अटोमोटिभ प्रालिले एक करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले एक करोड रुपैयाँ राहत कोषका लागि अर्थमन्त्रीमार्फत हस्तान्तरण गरे ।
नेपाल सिमेन्ट उत्पादक संघ ५१ लाख, मुक्तिनाथ विकास बैंक ५० लाख, लुम्बिनी विकास बैंकको तर्फबाट प्रतिनिधिहरूले २५ लाख रुपैयाँ सहयोग गरे । सिएएस ट्रेडिङ हाउसले एक लाख ११ हजार, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, सिल्भर लाइनिङ प्रालिका अधिकारीले एक लाख ११ हजार रुपैयाँ कोषका लागि योगदान गरे ।
अबाकस इन्साइट्स प्रालिले १५ लाख र अन्य तीन संस्थाले २६ लाख ६२ हजार रुपैयाँ कोषमा योगदान गरे । शुक्रबार अर्थ मन्त्रालयमार्फत कुल ३८ करोड ५६ लाख ६४ हजार दुई सय २२ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको हो ।