रसुवा बाढीपीडितलाई हेलिकोप्टरमार्फत उद्धार र राहत सामग्री वितरणका लागि सहज हुने गरी आयल निगमले त्रिशुलीस्थित नेपाल आर्मीको ब्यारेकमा बिहिबार साँझ ९ हजार लिटर हवाई इन्धन बोकेको ‘डिस्पेन्चर’ पठाएको छ । यसअघि बुधबार पठाएको एक ट्यांकर तेल (१२ हजार लिटर) एकै दिनमा सकिएपछि निगमले आज फेरि ९ हजार लिटर हवाई इन्धन पठाएको हो ।
आयल निगमको हवाई इन्धन कार्यालय, सिनामंगल प्रमुख प्रदीप यादवले बिहीबार साँझ ९ हजार लिटर हवाई इन्धन बोकेको ‘डिस्पेन्चर’ त्रिशूली ब्यारेकका लागि पठाएको जानकारी दिए । ‘बुधबार पठाएको एक ट्यांकर तेल बिहीबार बिहानबाट उद्धारमा खटिने हेलिकोप्टरमा हाल्न थालिएको थियो, तर साँझसम्म सकिने अवस्था भयो,’ उनले भने, ‘त्यसैले, बिहीबार साँझ नै ९ हजार लिटर हवाई इन्धन त्रिशूली पठाइएको हो । यो टयांकर रातिसम्म पुग्छ ।’
सिनामंगलबाट डिस्पेन्चरमा तेल हालेर पठाउन आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहसमेत उपस्थित भएका थिए। उनले त्रिशूली ब्यारेक तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरबाट हुने उद्धार र राहत सामग्री वितरणका हवाई इन्धनको कुनै समस्या हुन नदिने बताए । ‘बाढी प्रभावितको उद्धार र राहत सामग्री वितरण लागि हुने उडानमा हवाई इन्धनको कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाउँछु,’ उनले भने ।
रिफ्युलरमार्फत लामो दूरी तय गरेर हवाई इन्धन ढुवानी गर्नु उपयुक्त नभएकाले यसपटक रामेछापको मन्थली विमानस्थलमा रहेको डिस्पेन्चर ल्याइएको निगमको सिनामंगल डिपोमा कार्यरत उपनिर्देशक रामहरि निरौलाले बताए । ‘डिस्पेन्चरबाट हवाई इन्धन ढुवानी तुलनात्मक रूपमा धेरै सुरक्षित मानिन्छ । त्यसैले रामेछापबाट डिस्पेन्चर ल्याएर त्यसमा तेल हालेर त्रिशूली ब्यारेक पठाइएको हो,’ निरौलाले भने ।
बिहीबार बिहान फोन गरेर मन्थलीमा रहेको डिस्पेन्चर काठमाडौं ल्याउन निर्देशन दिएको निरौलाले जानकारी दिए। उक्त डिस्पेन्चर सडक मार्ग हुँदै साँझ काठमाडौं आउनासाथ सिनामंगल डिपोमा तेल भरेर त्रिशूली ब्यारेक पठाइएको हो ।
‘त्रिशूली ब्यारेकमा एउटा रिफ्युलर पहिले नै पुगेर बसेको छ । त्यसैले, राती ब्यारेकमा पुग्नासाथ डिस्पेन्चरमा रहेको तेल रिफ्युलरमा खन्याइनेछ,’ उनले भने, ‘लगत्तै, राति नै डिस्पेन्चर काठमाडौं फर्कनेछ ।’ निरौलासहितका कर्मचारीसमेत बिहीबार साँझ डिस्पेन्चर लिएर त्रिशूली ब्यारेकका लागि निस्किएका छन् ।
त्रिशूली ब्यारेकबाट उद्धार र राहत सामग्री वितरणको काम चलुन्जेलसम्म डिस्पेन्चरमार्फत प्रत्येक दिन हवाई इन्धन ढुवानी भइरहने डिपो प्रमुख यादवले जानकारी दिए । ‘डिस्पेन्चरबाट रिफ्युलमा तेल अनलोड हुँदा एक तह फिल्टरसमेत हुन्छ । त्यसपछि, रिफ्युलमा रहेको पाइपमार्फत हेलिकोप्टरको ट्यांकीमा सोझै इन्धन भर्ने काम हुन्छ,’ यादवले भने, ‘अब प्रत्येक दिन डिस्पेन्चरबाट आवश्यकताअनुसार हवाई इन्धन त्रिशूली ब्यारेक पठाएर उद्धार र राहत सामग्री वितरण गर्ने हेलिकोप्टरलाई सेवा प्रदान गरिनेछ।’