विपतकाे समयमा अफवाह फैलाउनेदेखि कृत्रिम अभाव सिर्जना गर्नेलाई एक लाख जरिवाना र ६ महिना कैद

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

सरकारले विपतकाे समयमा सार्वजनिक हित र राहत व्यवस्थापनमा असर पार्ने विभिन्न गैरकानुनी गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक गरेको ‘कानुन जानौँ, अधिकार बुझौँ’ सन्देशमार्फत विपद्को समयमा अफवाह फैलाएर सार्वजनिक रूपमा त्रास सिर्जना गर्ने, विपतकाे नाममा चन्दा, राहत वा सहयोग संकलन गरी दुरुपयोग गर्ने तथा संकलित राहत आफूखुसी वितरण वा व्यक्तिगत लाभमा प्रयोग गर्ने कार्य कानुनले निषेध गरेको जनाएको छ।

त्यस्तै, अप्राकृतिक रूपमा बजार मूल्य वृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गर्ने र राहत सामग्री वितरणमा अवरोध गर्ने कार्यसमेत नगर्न मन्त्रालयले सचेत गराएको छ। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४ अनुसार यस्ता निषेधित कार्य गरेमा र १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विपतकाे समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिम्मेवार व्यवहार गर्न र कानुनविपरीतका गतिविधिबाट टाढा रहन सबैमा आग्रह गरेको छ।

सुझावित समाचार