रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन्।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकोप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४ जना, त्रिशूली–काठमाडौंमा ३ जनाको उद्धार गरेको छ।
त्यसैगरी, निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकोप्टरले रसुवा–टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३ जना, अन्नपूर्ण हेलीले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन्।
साथै, प्रभु हेलिकोप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिस्टेलले रसुवा–टिचिङ अस्पतालमा ५ जना, एभरेस्टले रसुवा–टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन्।