परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट रसुवासहित तल्लो तटीय क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यान खोज तथा उद्धार, उपचार र राहतमा केन्द्रित रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभामा जानकारी दिँदै उनले रसुवा र नुवाकोट क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनासहित ४४ जना सम्पर्कविहीन रहेको बताए। प्रभावित क्षेत्रमा हालसम्म नौजनाको शव फेला परेको छ भने सडक, पुल, जलविद्युत् र सञ्चार पूर्वाधारमा ठुलो क्षति पुगेको उनले जानकारी दिए।
खोज तथा उद्धारका लागि रसुवा र नुवाकोटमा १३ वटा हेलिकोप्टर परिचालन गरिएको छ। घाइतेको उपचारका लागि थप स्वास्थ्य टोली परिचालन गरिएको र गम्भीर घाइतेका लागि पाँच स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको मन्त्री खनालले बताए।
सरकारले रसुवा र नुवाकोटका विपत् व्यवस्थापन कोषमा एक–एक करोड तथा धादिङमा ५० लाख रुपैयाँ थप निकासा गरेको छ। साथै, विपत् तथा सम्भावित जोखिमबारे उत्तरी छिमेकी चीनसँग समन्वय भइरहेको र मित्रराष्ट्रबाट राहत तथा उद्धार सहयोगका लागि प्रतिबद्धता प्राप्त भइरहेको उनले जानकारी दिए।