पूर्वअर्थमन्त्री खनाल र डा. श्रेष्ठ सम्मानित

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा नेपाल जनप्रशासन संघले पूर्वअर्थमन्त्री रामेश्वर खनाल र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठलाई सम्मान गरेको छ ।

संघले साल्ट ट्रेडिङका पूर्वप्रशासक डा. हेमबहादुर मल्ल सम्मानबाट दुवैजनालाई सम्मानित गरेको हो । डा. माकाजुलाई वर्ष ०८१ र खनाललाई वर्ष ०८२ को सम्मान व्यक्त गरिएको संघले जनाएको छ । दुवैजनालाई राजधानीमा आयोजित एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान प्रदान गरेका थिए । पुरस्कारको राशि जनही दुई लाख रुपैयाँ छ । डा. श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा अघि बढाइएको कार्यले स्वास्थ्य सेवाको प्रभावकारिता, गुणस्तर र नागरिकप्रतिको उत्तरदायित्वलाई सुदृढ गर्न महŒवपूर्ण योगदान पुर्याएको ठहर गर्दै संघले सम्मान गरेको जनाएको छ । उनको योगदान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही संस्थागत विकास, गुणस्तरीय सेवा प्रवाह र सार्वजनिक हितप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा रहेको संघको भनाइ छ ।

त्यस्तै, पूर्वअर्थसचिवसमेत रहेका पूर्वअर्थमन्त्री खनालले सार्वजनिक प्रशासन र सेवामा गरेको योगदानबापत सम्मान गरिएको संघले जनाएको छ । सार्वजनिक जिम्मेवारीमा रहँदा नीति, प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा उनले पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरेको संघको भनाइ छ । संघले हालसम्म २३ जनालाई उक्त सम्मान प्रदान गरेको जानकारी दिएको छ ।

सम्मान कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कारले अवसरका रूपमा काम गर्न थप प्रेरणा मिल्ने बताए । उनले आगामी पुस्ताका प्रशासक, व्यवस्थापक, चिकित्सक तथा उद्यमीलाई थप जिम्मेवार बन्न यस्ता पुरस्कारले सहयोग पुग्ने बताए । त्यस्तै, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठले सरकारको निर्देशनअनुसार दैनिक उपभोग्य खाद्य वस्तुको सुलभ मूल्यमा नियमित आपूर्ति गर्ने जिम्मेवारी पूरा गरिरहेको बताए । उनले देशभर आयोनुनको आपूर्ति सुलभ रूपमा भइरहेको पनि जानकारी दिए ।

सुझावित समाचार