उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र निजी क्षेत्रबिच निरन्तर संवाद गरी लगानीमैत्री नीति–निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सोको उद्घाटन गर्दै उनले सरकार र निजी क्षेत्रबिच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति–निर्माण गर्नुपर्ने बताएका हुन् ।
उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको विकाससँगै लगानी सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ता हितबिच सन्तुलन कायम गर्नुपर्नेमा समेत जोड दिएका छन् । नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोड्दै अब नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सिप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । ‘विश्व अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेको छ । नेपालका व्यवसायीले पनि यस परिवर्तनलाई अवसरका रूपमा लिनुपर्छ,’ उनले भने ।
इतिहासकै कमजोर अवस्थामा निजी क्षेत्र : अध्यक्ष श्रेष्ठ
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले उद्योगी–व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा रहेको बताएका छन् । ‘समग्र माग बढ्न सकेको छैन, उद्योग–व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन् । व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ,’ उनले भने, ‘मेरो अनुभवका आधारमा उद्योग–व्यवसाय अहिले सबैभन्दा कमजोर अवस्थामा पुगेको ठान्छु ।’
अध्यक्ष श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको, तर नयाँ सरकारले बजेटको प्रतिबद्धताअनुसार व्यवहारमा काम गर्न नसकेको बताए । निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म र व्यावसायिक वातावरण नबनेसम्म आर्थिक समृद्धि सम्भव नभएको उनको भनाइ थियो । अर्थतन्त्रलाई पुनर्संरचना गर्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा सरकारले जोड दिनुपर्ने श्रेष्ठको भनाइ थियो । आगामी १० वर्षपछि नेपालले जनसांख्यिक लाभको अवस्था गुमाउने सम्भावना रहेको भन्दै श्रेष्ठले अहिले नै उद्योग स्थापना गरी युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनु पनि सरकारसँग माग गरे ।
अध्यक्ष श्रेष्ठले सरकारले दशकौँसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यानै नदिइएको धारणा राखे । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई सवारीसाधनको व्यापारमा मात्र सीमित गरेर हेर्न नहुने बताए ।