किराँत राई यायोक्खा संखुवासभाको अध्यक्षमा घमानसिंह राई

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

राई जातिहरूको साझा जातीय संस्था किराँत राई यायोक्खा संखुवासभाको अध्यक्षमा घमानसिंह राई चयन भएका छन्। सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित चौथो जिल्ला अधिवेशनले राईको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।

‘किराँत राई जातिहरूको भाषा, लिपि, संस्कृति बचाऔँ, किराँत राई यायोक्खा संस्थामा आबद्ध होऔँ’ भन्ने नारासहित सुरु भएको चौथो जिल्ला अधिवेशनले सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षद्वयमा तिलक चाम्लिङ र भोजविक्रम याक्फू, सचिवमा बालकुमार राई, सहसचिवद्वय सुक्रम राई र सुरेश राई, कोषाध्यक्ष प्रविना राई, सहकोषाध्यक्ष यौवन राईसहित १६ जना सदस्यहरू रहेका छन्।

संखुवासभा जिल्लाभर भूगोल र क्षेत्रका आधारमा समितिहरू मिलाएर कार्यसमिति चयन गरिएको संस्थाले जनाएको छ। निवर्तमान अध्यक्ष केदार राईको अध्यक्षतामा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो।
 

सुझावित समाचार